सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको दक्षिणतर्फको खुला मैदानमा ‘कर्णाली महोत्सव–२०७५’ हुने भएको छ । उक्त महोत्सव नेपाल चेम्बर अफ कमर्श, सुर्खेतको आयोजनामा फागुन ३ देखि ११ गतेसम्म सञ्चालन हुन लागेको सुर्खेत चेम्बर अध्यक्ष चिन्तामणि शर्माले जानकारी दिए ।
प्रदेश सरकारले अभियानकै रूपमा ल्याएको ‘कर्णाली रारा पर्यटन’ गतिविधिलाई टेवा पुग्ने गरी स्थानीय कृषि तथा घरेलु उद्यमका उत्पादन, कला संस्कृति र व्यापार व्यवसाय प्रवद्र्धनका लागि उक्त महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष शर्माले बताए । उनका अनुसार महोत्सवमा कर्णालीमा उत्पादित वस्तु तथा स्थानीय कला संस्कृतिलाई विशेष प्राथमिकता दिइनेछ । ‘महोत्सवमा जिल्लाबाहिरका नभई यसै क्षेत्रका व्यापारीलाई व्यापार व्यवसाय सञ्चालनका लागि प्राथमिकता दिइनेछ,’ उनले भने, ‘महोत्सवबाट बचेको रकमले वीरेन्द्रनगरमा सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण गर्नेछौं ।’ उनले वीरेन्द्रनगर नगरपालिकाले तोकेको स्थानमा तत्कालै शौचालय निर्माणको कार्य शुरू गरिने बताए ।
मेला अवधिभर २ लाख दर्शकले अवलोकन गर्ने र रू. १० करोडबराबरको कारोबार हुने अनुमान आयोजकले गरेको छ ।