काठमाडौं । काठमाडौंको बागबजारस्थित सडक पेटीछेउमा भक्का (चामलको पिठोबाट बनाइने परिकार) बेच्ने झापाकी कुशमती राजवंशी मासिक १५ हजार रुपैयाँ कमाउँछिन् । बाल्यकालदेखिको आफ्नो शीपले दिलाएको रोजगारीप्रति उनी सन्तुष्ट छिन् ।
कुशमती जस्तै अन्य ६ जनाले पनि गएको मंसिरदेखि काठमाडौंका विभिन्न स्थानमा भक्का व्यापार गर्दै आएका छन् । ‘हामी जम्मा १४जना महिला छौं,’ कुशमती भन्छिन्, ‘७ जना कोठामा बसेर दिनभरी पिठो तयार पार्छन्, बाँकी ७ जनाले विक्री गर्छौं ।’
भक्का व्यापारमा संलग्न उनीहरू स्वतःस्फूर्त यो व्यवसायमा लागेका भने होइनन् । झापाकै तीन युवा अनिरुद्र तिम्सिना, विशाल पाण्डे र विज्ञान गौतमले यो व्यवसाय शुरू गरेका हुन् । उनीहरूले कोठा भाडामा लिई बस्ने, खाने र यातायात खर्चसहित रोजगारी दिएका हुन् । ‘१४ जनाकै लागि बस्ने, खाने व्यवस्था साहुले मिलाइदिएको छ,’ कुशमती भन्छिन्, ‘महीनाको १५ हजार त चोखो बच्छ ।’
‘काठमाडौं बाहिरका परिकार भित्र्याउँछौं’
भक्का व्यवसायमा संलग्न ३ जनामध्येका एक अनिरुद्र भन्छन्, ‘पहिलो चरणमा पूर्वमा प्रचलित भक्कालाई काठमाडौं प्रवेश गरायौं, यसैगरी काठमाडौं बाहिरका विभिन्न समुदायमा प्रचलित परिकारहरू भित्र्याउँदै जानेछौं ।’ यसरी भित्र्याउने परिकार स्वस्थकर रूपमा तयार गरिने उनी बताउँछन् ।
सँगसँगै समाजसेवा
झापाको भक्का प्रालि दर्ता नै गरेर यो काम थालेका उनीहरूले प्रतिगोटा भक्काबाट २ रुपैयाँ वृद्धाश्रमलाई सहयोग गर्ने सोच बनाएका छन् । ‘जाडो महीनामा चल्ने भक्काको व्यापार फागुनमा अन्त्य गर्छौं र त्यति बेलासम्ममा हुने आम्दानीबाट एकमुष्ठ रूपमा आवश्यकता रहेका वृद्धाश्रमलाई उपलब्ध गराउँछौं,’ तिम्सिनाले भने, ‘त्यसका लागि उपयुक्त वृद्धाश्रमको खोजी पनि गरिरहेका छौं ।’
कमाउने उद्देश्य छैन
आफूहरूले यो व्यवसाय नाफा कमाउने उद्देश्यले भन्दा पनि शीप भएर पनि न्यून आर्थिक अवस्था रहेका समुदायको जीवनस्तर उकास्न मद्दत पुर्याउने उद्देश्यले थालेको तिम्सिना बताउँछन् । तिम्सिना सुपारीको बोक्राबाट टपरी बनाउने व्यवसाय गर्छन् । त्यसैगरी बाँकी दुईमध्ये एकजना विद्यार्थी र अर्का कपडा व्यवसायी हुन् । विभिन्न देशका अनुभव संगालेका उनीहरू नवीन सोचका साथ विपन्न समुदायलाई सहयोग पुर्याउने गरी देशमै केही गर्नुपर्ने धारणा राख्छन् । यस्तै धारणा राख्नेहरूको साथ पाए अझै धेरै गर्न सक्ने उनीहरूको आँट छ ।
खासगरी पूर्वी नेपालको थारू समुदायमा प्रचलित भक्का उक्त क्षेत्रको लोकप्रिय खाजा हो । चामलको पीठोलाई बफ्याएर बनाइने यो परिकार चिल्लो, पिरो, अमिलो खान नहुनेहरूका लागि साह्रै उपयोगी हुन्छ ।