माघ १७, सुर्खेत । सरकारको विरोधमा सडक आन्दोलनमा उत्रिएको नेपाल विद्यार्थी संघले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही चढ्ने गाडीमा ‘माफिया सरकार मुर्दावाद’ लेखेर विरोध जनाएका छन् । बिहीवार वीरेन्द्रनगरमा नेवि संघ सुर्खेतले मुख्यमन्त्री शाहीको पार्किङमा राखेको गाडीमा सरकारको विरोध गर्दै माफिया सरकार मुर्दावाद लेखेका हुन् ।
सरकारले संसदबाट जबरजस्ती चिकित्सा शिक्षा विधेयक पारित गराएको विरोधमा नेवि संघले सरकारी गाडीमा सरकारकै विरुद्ध नारा लेखन अभियान शुरु गरेको छ । नेवि संघले सरकार विरुद्ध नयाँ विरोधको शैली शुरु गरेकोे हो । मध्यपश्मिाञ्चल विश्वविद्यालयको एक कार्यक्रममा सहभागी हुन गएका मुख्यमन्त्री शाहीको पार्किङमा राखिएको गाडीमा सुरक्षाकर्मीहरुलाई छली विद्यार्थीले माफिया सरकार मुर्दावाद लेखेका थिए । सरकारी गाडी तोडफोड गरेर राज्यको क्षति पुर्याउनुभन्दा विरोधको नयाँ शैली अपनाइएको नेवि संघका नेताहरुले बताएका छन् ।
नेपाल विद्यार्थी संघको केन्द्रिय समितिले तय गरेका विरोधका कार्यक्रम अन्तर्गत सरकारी गाडीलाई बन्देज गर्ने कार्यतालिका अनुसार यस्तो लेखिएको नेवि संघ सुर्खेतले बताएको छ । चिकित्सा शिक्षा विधेयकको विरोधमा डा. गोविन्द केसी २३ दिनदेखि अनशनमा रहँदा पनि सरकार मौन रहेको, सरकार अधिनायकवाद र भ्रष्टाचारतर्फ उन्मुख भएको लगायत आरोप लगाउँदै नेवि संघले देशव्यापी विरोधका कार्यक्रम गर्दै आएको छ ।