कर्णाली–रारा पर्यटन वर्ष : उद्घाटन कार्यक्रममै लाखौं अनियमितता
Feb 5, 2019
 
Uncategorized
सुर्खेत । कर्णाली प्रदेश सरकारले गत वैशाख १ गते घोषणा गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’ को उद्घाटन कार्यक्रममा लाखौं रुपैयाँ अनियमितता भएको पाइएको छ । प्रदेश सरकारले संसद्लाई एउटा र समितिलाई अर्को खर्च विवरण उपलब्ध गराएपछि अनियमितताको आशंकामा छानबिनका लागि लेखा समितिले कात्तिक १६ गते तीन सदस्यीय उपसमिति गठन गरेको थियो ।
उपसमितिले तीन महीना लगाएर तयार पारेको प्रतिवेदनमा सरकारले पर्यटन वर्ष उद्घाटन कार्यक्रममा लाखौंको अनियमितता गरेको उल्लेख छ । ‘सरकारसँग हामीले तीन पटक पर्यटन वर्ष उद्घाटनको खर्च विवरण माग्यौं, तीनै पटक फरक–फरक विवरणहरू प्राप्त भए,’ उपसमितिका संयोजक करवीर शाहीले भने, ‘उद्घाटनका लागि ४६ लाख बजेट पूर्वानुमान गरेर ८७ लाख १४ हजार ६ सय रुपैयाँ खर्च गरेको पाइयो ।’ उपसमितिले प्रदेश सरकारले निम्त्याएका पाहुनाहरूको खाना खर्चमा सबैभन्दा धेरै अनियमितता भएको औंल्याएको छ ।
उद्घाटन कार्यक्रममा प्रदेश सरकारले आमन्त्रण गरेका मध्ये सय जना पाहुना रारा पुगेका थिए । पर्यटन वर्षका लागि १० वटै जिल्लाका लागि छुट्याइएको रकम पनि सरकारले एउटै उद्घाटन कार्यक्रममा खर्च गरेको उनले बताए । ‘नदी नियन्त्रणका लागि भू–तथा जलाधार कार्यक्रममा छुट्याइएको नौ लाख रुपैयाँ पनि रकमान्तर गरेर पर्यटन वर्ष उद्घाटनमा खर्च गरिएको देखिन्छ,’ उनले भने । सरकारले संसद् र समितिलाई पनि छुट्टाछुट्टै विवरण उपलब्ध गराएको छ । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले समितिलाई उपलब्ध गराएको तथ्यांकमा उद्घाटन कार्यक्रममा ७८ लाख १६ हजार रुपैयाँ खर्च भएको उल्लेख छ । गत जेठ २५ गते सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले संसद्मा ६३ लाख ८१ हजाररुपैयाँ खर्च भएको विवरण पेश गरेका थिए ।
‘एउटै कार्यक्रमको छुट्टाछुट्टै खर्च विवरण पेश हुनुले पनि कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनका क्रममा आर्थिक अनियमितता भएको पुष्टि हुन्छ,’ समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठले भने, ‘उपसमितिले बुझाएको प्रतिवेदन अध्ययन गरेर थप प्रक्रियामा जान्छौं ।’