माघ २५, सुर्खेत । दैलेखको आठबीस नगरपालिकामा निर्माण गर्ने भनिएको नयाँ शहर राकम कर्णालीको निर्माण कार्य अलपत्र परेको छ । सरकारले आवश्यक भौतिक पूर्वाधार विकासका काम शुरु गर्न नसक्दा नयाँ शहर निर्माण कार्यले गति लिन नसकेको स्थानीयको भनाइ छ ।
निर्माणाधीन मध्यपहाडी लोकमार्गको छेउछाउमा विकास गर्न भन्दै घोषणा गरिएका १० नयाँ शहरमध्ये दैलेखको पश्चिममा पर्ने आठबीस नगरपालिको राकम कर्णाली पनि एक हो । कर्णाली राजमार्गसँगै जोडिएको राकम कर्णालीमा नयाँ शहर बनाउन चार वर्षअघि कार्यालय खोलियो । तर आयोजनाको निर्माणको गति सुस्त भएको जिल्ला समन्वय समिति दैलेखका सदस्य ललितजंग माझीले बताए । आयोजनाका कर्मचारीको बेवास्ताका कारण योजना जिम्मा लिएका कम्पनीले समेत काममा ढिलाई गरिरहेको माझीको भनाइ छ ।
अहिलेसम्म २० प्रतिशत कामसमेत हुन नसकेको र आयोजनाले स्थानीय बासिन्दासँग समन्वय नै नगरी जथाभावी ढंगले सडकको बाटो खोलेको स्थानीय अर्जुनबहादुर शाहीले बताए । जग्गा विवादले योजना निर्माणको काम समेत लामो समयदेखि प्रभावित बनेको छ । त्यस्तै आयोजनाको कार्यालय डेढ महिनादेखि प्रमुखबिहीन छ । कार्यालयमा प्रमुखसहित १४ जनाको दरबन्दी रहेपनि कार्यालय सहयोगी बाहेक सबै छुट्टीमा रहने गरेको स्थानीय बासिन्दा बताउँछन् ।
आयोजनाले भने पाँच वर्षदेखि जग्गा अधिग्रहणमा कुरा नमिल्दा काम सुस्त हुन पुगेको बताएको छ । आयोजना कार्यालयका अनुसार शहरी विकासका लागि १३७ रोपनी जग्गा अधिग्रहण प्रक्रिया मुआब्जा विवादकै कारण रोकिएको हो । अधिग्रहणमा शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय सुर्खेतको प्रतिवेदनका आधारमा जग्गा प्राप्ति ऐन विपरीत मुआब्जा निर्धारण गरिएको भन्दै स्थानीय बासिन्दाले विरोध गरेका थिए । उनीहरुले नियमअनुसार मुआब्जा वितरण गर्नुपर्ने भन्दै साविकको क्षेत्रीय प्रशासन कार्यालय र गृहमन्त्रालयमा उजुरी समेत दिएका थिए । सम्बन्धित निकायले उजुरीको सुनुवाइ नगरेको स्थानीय मिलन विकले बताए । आयोजनाले जग्गा बराबरको मुआब्जा दिन नसक्दा आफूहरुले रकम लिन नमानेको विकको भनाइ छ ।
जग्गा खाली नभएकाले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को काम रोकिएको कन्सल्टेन्सीले बताएको छ । निर्माणको जिम्मा पाएको एसभीआरसीका सञ्चालक केशवराज पाठकले विसं २०७३ मा कामको सम्झौता गरे पनि जग्गाधनीले जग्गा दिन नमानेकाले काममा ढिलाई भएको जनाए । ‘ब्लक पनि पास भएको एक वर्ष भयो, फिल्डमा आएर धेरैपटक जग्गा धनीसँग सहकार्य गर्न खोज्यौं तर समस्या समाधान हुन सकेन,’ उनले भने ।
आयोजनाले उज्यालो शहर कार्यक्रमअन्तर्गत राकम कर्णालीमा सौर्य ऊर्जा जडान गरिसकेको छ । जडान गरिएको सौर्य ऊर्जा पहुँच भएकाहरुको घर अगाडि मात्रै रहेको स्थानीय बासिन्दा हरिदेवी माझीले बताईन् ।
राकम कर्णाली–५ स्थित बगरखेतमा ‘ल्यान्ड पोलिङ’ को जिम्मा लिएको मैत्री कन्सल्टेन्सीले २५ दिनअघि नै काम सकिएको बताएको छ । आयोजनालाई सम्पूर्ण जग्गाको जिम्मा दिइएको छ । पछिल्लो समय आयोजना भित्रका सम्पूर्ण जग्गाको २४ प्रतिशत मुआब्जा कटौती गर्दै ७६ प्रतिशत जग्गा धनीलाई उपलब्ध गराउने प्रतिबद्धताका साथ काम गरिरहेको खरिदार दीपक दसौदीले जानकारी दिए ।
यता आठबीस नगरपालिकाका उपप्रमुख दीपा बोहोराले आयोजनाको काम कारबाहीबारे आफूहरुले निगरानी गरिरहेको बताइन् । केन्द्र सरकारले नै पर्याप्त कर्मचारी नपठाउँदा समस्या भएको उनको भनाइ छ ।
लोकमार्ग आसपासको बस्ती समेटेर २०९० सालसम्म राकम कर्णालीसहित देशका अन्य १० स्थानमा सुविधा सम्पन्न शहर निर्माण गर्ने सरकारी योजना छ । सेवा सुविधा र अवसरको खोजीमा हिमाल र पहाडबाट कोही पनि शहर वा तराई पस्न नपरोस् भन्ने उद्देश्यका साथ सरकारले आर्थिक वर्ष २०६७/०६८ को नीति तथा कार्यक्रममा मध्यपहाडी लोकमार्गको निर्माण तथा सो लोकमार्गको छेउछाउमा १० ओटा नयाँ शहर विकास गर्ने घोषणा गरेको थियो । प्रस्तावित शहरको निर्माणपछि हिमाल र पहाडबाट तराई झर्नेहरुको संख्यामा कमी आउने र राजधानी लगायत ठूला शहरमा हुने बसाई सराई न्यून हुने विश्वास लिइएको छ ।