वीरेन्द्रनगर । सुर्खेतको चौकुने गाउँपालिकाका ३ सय घरधुरीमा सौर्य ऊर्जा विस्तार गरिने भएको छ । उज्यालोका लागि टुकीबत्तीमा निर्भर चौकुने गाउँपालिका–८ गुटुका उक्त घरधुरीमा सौर्य प्रणालीबाट विद्युतीकरण गर्न लागिएको हो । आगामी चैतसम्ममा सौर्य ऊर्जा आयोजना सम्पन्न हुने गाउँपालिका कार्यालयले बताएको छ । यसका लागि १ सय किलोवाट क्षमताको सौर्य प्रणाली जडान गरिनेछ ।
उक्त आयोजना सम्पन्न भएपछि चौकुने–८ का विशाल बजार, बत्तीस पुतली, चाल्नेमुल, मिलनचौर र किथौरेका बासिन्दा लाभान्वित हुनेछन् । ‘३ वर्षअघि नै गुटु सोलार मिनिग्रेड उपभोक्ता समितिबाट काम शुरू भएको थियो,’ समितिका उपाध्यक्ष खगेन्द्र चलाउनेले भने, ‘गत कात्तिकदेखि भौतिक संरचनाको
निर्माण थालेका हौं ।’
उक्त आयोजनाको लागत ४ करोड ८४ लाख रहेको छ । वल्र्ड वाइड कन्स्ट्रक्शन कम्पनीमार्फत पिक पावर प्रालिले यसको निर्माण गरिरहेको छ । आयोजनाको कुल लागतको ९० प्रतिशत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र १० प्रतिशत स्थानीय उपभोक्ताले बेहोर्ने सहमति भएको चलाउनेले जानकारी दिए ।
हाल विद्युत् गृह निर्माण गरेर १ सय ९२ ओटा ब्याट्री जडानको काम सकिएको पिक पावर प्रालिका प्रतिनिधि सुशील शर्माले जानकारी दिए । ३ सय २० ओटा सोलार प्यानल आइपुगेकाले १ महीनाभित्रै विद्युत् उत्पादन शुरू हुने उनले बताए । अहिले पोल गाड्ने काम अन्तिम चरणमा रहेको र अबको डेढ महीनामा तार तान्ने काम सकिने उनको भनाइ छ । चौकुने गाउँपालिकाका अध्यक्ष धीरबहादुर शाहीले नेपालकै ‘पाइलट प्रोजेक्ट’को रूपमा काम अघि बढेको जानकारी दिए ।