माघ २९, सुर्खेत । राजतन्त्रको अन्त्यसँगै राजपरिवारको नाम र पूर्व राजाहरुको शालिक भत्काइयो । सुर्खेतको वीरेन्द्रचौकमा उभिएको पूर्व राजा वीरेन्द्रको शालिक पनि यसबाट अछुतो रहन सकेन । लामो समयसम्म भग्नावशेष मात्रै बाँकी रहेको वीरेन्द्रचौकमा पानीको फोहोरासहितको चौक निर्माण गर्ने योजना तयार गरी वीरेन्द्रनगर नगरपालिकाले प्रक्रिया अघि बढायो । गत जेठ १३ गते राति डोजर लगाएर भग्नावशेषको बाँकी संरचना पनि भत्काइयो । तर त्यसको आठ महीना बितिसम्दा पनि वीरेन्द्रचौक पुनर्निर्माणको काम शुरु हुन सकेको छैन ।
स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्ने की पानीको फोहोरा राख्ने विषयमा विवाद भएपछि पुनर्निर्माण अलपत्र परेको हो । स्थानीयबाट विरोध आएपछि नगरपालिकाले नयाँ संरचना निर्माण अघि बढाउन सकेको छैन । नगरपालिकाले उक्त योजनाको लागि पाँच लाख रुपैयाँ विनियोजन गरेको छ । ‘पानीको फोहोरासहितको पोखरी निर्माण गर्ने उद्देश्यले शालिक राखिएको चौक भत्काइएको हो,’ वीरेन्द्रनगर–६ का वडा अध्यक्ष मोतिप्रसाद कँडेलले भने, ‘नगरपालिकाको योजनाविरुद्ध स्थानीय जनमत खडा भएपछि निर्माण हुन सकेन ।’
चौक भत्काए लगत्तै पोखरी निर्माणका लागि बालुवा, ढुंगा लगायतका आवश्यक सामग्री ल्याइएको थियो । तर, हाल उक्त सामग्रीसमेत निर्माणस्थलमा छैन । वडा कार्यालयले आधा चौक भत्काएर छोड्दा झनै कुरुप बनेको छ । ‘संविधानतः राजाको शालिक बनाउनु भन्दा फोहोरासहितको पोखरी बनाउनु उपयुक्त ठानिएको हो,’ अध्यक्ष कँडेलले भने, ‘एकाथरीबाट राजाकै शालिक राख्नुपर्ने दबाब आयो । विरोधका बीच काम गर्न सक्ने वातावरण बनेन ।’ कार्यपालिकाबाट चौक कस्तो र कसरी निर्माण गर्ने भन्ने बारेमा निर्णय नभएसम्म काम अगाडि बढाउन नसकिने उनले बताए । ‘कर्णालीबासीको पहिचानका लागि वीरेन्द्रनगर बजारलाई सुन्दर बनाउनुपर्छ भन्ने योजनाले फोहोरासहितको पोखरी निर्माण गर्ने योजना बनेको हो, तर अब कार्यपालिकाको बैठकबाट निर्णय नभएसम्म काम गर्न सक्ने अवस्था छैन,’ वडा अध्यक्ष कँडेलले भने ।
यता, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले वीरेन्द्रको शालिक राख्ने बारेमा नीतिगत निर्णय गर्न नसकिने बताए । ‘जनता र नगरकार्यपालिकाले निर्णय ग¥यो भने फरक कुरा हो’ उनले भने, ‘चौक भत्काउँदा विरोध भएपछि काम रोकिएको छ । आगामी नगर सभामा यो एजेन्डामा छलफल हुन्छ ।’ वीरेन्द्रनगरको हिउँदे अधिवेशन माघको अन्तिम साताबाट शुरु हुँदैछ ।
वीरेन्द्रचौकको इतिहास राजा वीरेन्द्र २०२३ सालमा सुर्खेत आएका थिए । उक्त समयमा नै राजाले उपत्यका मन पराएकाले २०२९ सालमा शहरी योजनाविद् माधवभक्त माथेमाले नगरको गुरुयोजना बनाए । आफूले अति रुचाएको ठाउँ भएकाले वीरेन्द्रले गुरुयोजना कार्यान्वयन गर्न लगाए । ‘तत्कालीन समयमा चौहानचौर भनिन्थ्यो, त्यसलाई कटकुवा नगर पञ्चायतमा गाभियो,’ राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य मकुन्दश्याम गिरीले भने, ‘राजाले रुचाएको ठाउँ भएकाले सबै राजनीतिक दलको समर्थनमा वीरेन्द्रनगर नगर पञ्चायत नामाकरण गरियो ।’ राजाको शालिकसहित बीच बजारको चौकलाई वीरेन्द्रचौक नामाकरण गरिएको थियो । त्यतिबेला गिरी पञ्चायत प्रमुख थिए ।
भारतको जयपुरबाट बनाएर ल्याइएको वीरेन्द्रको शालिक २०४३ सालमा राखिएको थियो । वीरेन्द्रसँगै आएकी रानी ऐश्वर्याले शालिकको अनावरण गरेकी थिइन् । ‘मुलुकमा गणतन्त्र आयो, संविधान बन्यो । संघीयता कार्यान्वयन भएको छ,’ उनले भने, ‘राजतन्त्र समाप्त भएपछि थुप्रै परिवर्तन भए, परिवर्तन गर्ने नै हो भने नगरपालिकाकै नाम परिवर्तन हुनुपर्ने हो,’ गिरीले भने, ‘जुन राजाले बनाएको नगर हो, त्यसमा शालिक राख्न के भयो ?’ वीरेन्द्रचौकमा राजाको शालिक अनिवार्य रुपमा राख्नुपर्ने उनले बताए । वीरेन्द्रनगर पुग्ने पर्यटकहरुले राजाप्रतिको आस्थासँगै इतिहासको संरक्षण हुने भएकाले वीरेन्द्रकै शालिक बनाउनुपर्ने उनी बताउँछन् । उनले भने, ‘बढ्दो सवारी चापलाई असर नगर्ने संरचना बनाउन सकिन्छ, ट्राफिक पोष्ट राख्न मिल्छ । वीरेन्द्रको शालिक भत्काएर अन्य संरचना बनाउँदा इतिहास ध्वस्त हुँदै जाने खतरा देखिन्छ ।’