माघ २९, रुकुम । रुकुममा अनुमति बिना सीसी क्यामरा जडान गरिएका छन् । जिल्लामा धेरै संख्यामा सीसी क्यामरा जडान गरिएको भएपनि सबैले अनुमति नलिएको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।
जिल्ला प्रशासनबाट हालसम्म लक्ष्मी बैंक र न्यू मुनलाईट बोर्डिङ स्कूलले मात्रै अनुमति लिएका छन् । अन्य व्यापारिक कम्पनी, बैंक, विद्यालय लगायतले अनुमति बिना सीसी क्यामरा जडान गरेका छन् । जिल्लामा सीसी क्यामराको यकिन तथ्यांक नभएपनि ६० भन्दा बढी संख्यामा सीसी क्यामरा जडान भएको हुनसक्ने अनुमान छ । सीसीटीभी जडान तथा सञ्चालन कार्यविधि, २०७२ अनुसार सीसीटीभी जडान गर्न अनिवार्य अनुमति लिनुपर्ने तथा खिचिएका श्रव्यदृष्य तथा अन्य विद्युतीय चित्र कम्तीमा पनि ३ महीनासम्म सुरक्षित राख्नुपर्ने व्यवस्था छ । सीसीटीभी जडान तथा सञ्चालन कार्यविधि, २०७२ विपरीत सीसीटीभी जडान एवम् सञ्चालन भए गरेको पाइएमा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ बमोजिम कारबाही गर्ने प्रावधान छ ।
अनुमति लिन अनुरोध जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले अनुमति लिएर मात्रै सीसीटीभी क्यामरा जडान गर्न अनुरोध गरेको छ । सार्वजनिक सूचना जारी गर्दै यसअघि अनुमति नलिएर सीसीटीभी जडान गरेका व्यापारी, बैंक, कम्पनी र शैक्षिक संस्थालाई अनुमति लिन अनुरोध गरेको छ ।
यसअघि बिना अनुमति सीसी क्यामरा जडान गरेका र नयाँ जडान गर्न चाहनेले पनि अनुमति लिन सञ्चार माध्यम तथा सार्वजनिक स्थलमा सूचना टाँस गरिएको छ । निर्धारित समय भित्र स्वीकृति नलिनेलाई कानून अनुसार कारबाही गर्ने तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शेरबहादुर पुनले जानकारी दिए ।
अनुमतिका लागि आवश्यक कागजात सीसीटीभी क्यामरा जडान गर्दा जडानको प्रयोजन खुलेको निवेदन, व्यक्तिको पहिचान खुल्ने परिचयपत्रको प्रतिलिपि, घरको नक्साको प्रतिलिपि, जग्गाधनी प्रमाणपत्रको प्रतिलिपि र सीसी क्यामरा निगरानीमा खटिने व्यक्तिको विवरण जिल्ला प्रशासन कार्यालयमा बुझाउनु पर्दछ ।