फागुन १, पर्वत । पर्वतको फलेवास नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ मा सबैभन्दा बढी र समयमै कर तिर्ने ६ जना करदाताहरुलाई सम्मान गरेको छ । करप्रति नागरिकहरुको उत्साह बढाउन सम्मान गरेको नगरपालिकाले जानकारी दिएको छ ।
सम्मानित हुनेहरुमा फलेवास–१, कार्कीनेटाका गौकुमारी श्रेष्ठ, सूर्यलाल श्रेष्ठ र बाबुराम शर्मा रहेका छन् । त्यस्तै फलेवास–५, खानीगाउँका देवका सुबेदी, ढकाराम सुबेदी र नरबहादुर क्षेत्री सम्मानित भएका छन् । नगरपालिकाले करदाताहरुलाई दोसल्ला र कदरपत्रले सम्मान गरेको प्रवक्ता टिकाराम गौंडेलले जानकारी दिए ।
नगरपालिकाले अनावश्यक कर लगाएको भनेर विरोध भइरहेका बेला उत्कृष्ट करदाताको रुपमा करदातालाई सम्मान गर्दा कर तिर्नुपर्ने आवश्यकता नगरवासीहरुले महशुस गर्ने अपेक्षा लिइएको नगरप्रमुख पदमपाणी शर्माले बताए । गतवर्ष नगरपालिकाले रू. ४० लाख ४३ हजार ५३६ कर संकलन गरेको शर्माले जानकारी दिए । उनले भूमि, सम्पत्ती र व्यवसायबाट उक्त कर संकलन भएको बताए । नगरपालिकाका सबै वडामा उद्योग, व्यवसाय, लघु तथा घरेलु उद्योग, कृषि, पशुपालन व्यवसाय सञ्चालनका लागि प्रेरित गरिरहेको शर्माको भनाइ छ ।
नगरपालिकाका उपप्रमुख एवम् राजस्व परामर्श समितिका संयोजक मन्जु अधिकारीले विकसित मुलुकहरु पनि करकै कारण विकसित भएको उल्लेख गर्दै कर तिरे देश समृद्ध बन्ने बताईन् । नगरपालिकाले मंगलवारबाट १२ दिनसम्म सञ्चालन हुने गरी कर प्रशिक्षण तालिम शुरु गरेको अधिकारीले जानकारी दिईन् । उनले रहरले कर तिर्ने बानी बसाल्नुपर्ने आवश्यकता महशुस गरी कर प्रशिक्षण सञ्चालन गर्न लागेको बताईन् ।