पर्वत । पर्वतको फलेवास नगरपालिकाले आर्थिक वर्ष २०७४/७५ मा सबैभन्दा बढी र समयमै कर तिर्ने ६ जना करदातालाई बुधवार सम्मान गरेको छ । करप्रति नागरिकको उत्साह बढाउन सम्मान गरेको नगरपालिकाले जानकारी दिएको छ ।
सम्मानित हुनेहरूमा फलेवास–१, कार्कीनेटाका गौकुमारी श्रेष्ठ, सूर्यलाल श्रेष्ठ र बाबुराम शर्मा छन् । त्यस्तै फलेवास–५, खानीगाउँका देवका सुवेदी, ढकाराम सुवेदी र नरबहादुर क्षत्री सम्मानित भएका छन् । नगरपालिकाले करदातालाई दोसल्ला र कदरपत्रले सम्मान गरेको नगरका प्रवक्ता टीकाराम गौंडेलले जानकारी दिए । नगरपालिकाले अनावश्यक कर लगाएको भनेर विरोध भइरहेका बेला उत्कृष्ट करदाताको रूपमा करदातालाई सम्मान गर्दा कर तिर्नुपर्ने आवश्यकता नगरवासीले महसूस गर्ने अपेक्षा लिइएको नगरप्रमुख पदमपाणि शर्माले बताए ।
गत आर्थिक वर्षमा नगरपालिकाले रू. ४० लाख ४३ हजार कर संकलन गरेको शर्माले जानकारी दिए । उनले भूमि, सम्पत्ति र व्यवसायबाट उक्त कर संकलन भएको बताए । नगरपालिकाका सबै वडामा उद्योग, व्यवसाय, लघु तथा घरेलु उद्योग, कृषि, पशुपालन व्यवसाय सञ्चालनका लागि प्रेरित गरिरहेको शर्माको भनाइ छ । नगरपालिकाले मंगलवारदेखि १२ दिनसम्म सञ्चालन हुने गरी कर प्रशिक्षण तालीम शुरू गरेको छ ।