रुकुम । रुकुमबाट करीब २५ लाख रुपैयाँको मकैको बीउ विक्री गरिएको छ । रुकुम पश्चिमका चारओटा स्थानीय तहका ११ किसान समूहले उत्पादन गरेको रामपुर कम्पोजिट, अरुण–४, मनकामना–३ र देउती जातको ५२ दशमलव ६६ मेट्रिक टन मकैको बीउ विक्री गरिएको हो ।
रामपुर कम्पोजिट र अरुण–४ प्रतिकेजी ४८ रुपैयाँ, मनकामना–३ र देउती प्रतिकेजी ४५ रुपैयाँका दरले विक्री गरिएको स्थानीय किसान ज्ञानबहादुर ओलीले बताए । रामपुर कम्पोजिट २९ दशमलव ९१५ मेट्रिक टन र अरुण–४ जातको ८ दशमलव ४ मेट्रिक टन तथा मनकामना–३ जातको ११ दशमलव ९४४ मेट्रिक टन र देउती १ दशमलव ८१३ टन विक्री भएको किसानको लागि उन्नत बीउ बिजन कार्यक्रमले बताएको छ ।
क्षेत्रीय बीउबिजन प्रयोगशाला खजुरा बाँकेमा ल्याब परीक्षण गरिएपछि मात्रै किसानले मकैको बीउ विक्री गर्ने गरेका छन् । पूर्वसम्झौता अनुसार पञ्चशक्ति बीउ कम्पनी धनगढी, रुकुमेली एग्रोसिट दाङ, साइकुमारी एग्रोभेट र ओली सप्लायर्सले यहाँका किसानले उत्पादन गरेका बीउ खरीद गरेको कार्यक्रमका सल्लाहकार राजु लामिछानेले बताए ।
मकैको बीउको उम्रने शक्तिका आधारमा किसानले थप मूल्यसमेत पाएका छन् । ल्याब परीक्षणको क्रममा ८० प्रतिशत बढी उम्रने शक्ति भएको पाइएमा प्रतिकेजी २० पैसा थप्ने बीउ कम्पनीसँग किसानले सम्झौता गरेका थिए । मकैको बीउमा ८० देखि ९९ प्रतिशतसम्म उम्रने शक्ति रहेको लामिछानेले बताए । उनका अनुसार किसानले उत्पादन गरेका थप बीउ पनि विक्री हुने क्रममा छन् ।
रुकुम पश्चिमको मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, बाँफिकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकाका किसानले मकैको उन्नत बीउ उत्पादन गरेका छन् । यस क्षेत्रका किसान समूहहरूलाई किसानका लागि उन्नत बीउबिजन कार्यक्रमले सिँचाइ, कृषि औजारदेखि आवश्यक तालीम र बीउ भण्डारणका लागि आवश्यक सामग्रीसमेत सहयोग गर्दै आएको छ ।