वीरेन्द्रनगर । बैंक तथा वित्तीय संस्था उद्यमीप्रति अनुदार र कठोर बनेको भन्दै सुर्खेतका व्यवसायीले असन्तुष्टि व्यक्त गरेका छन् । सुर्खेत उद्योग वाणिज्य संघले वीरेन्द्रनगरमा बिहीवार आयोजना गरेको कार्यक्रममा व्यवसायीले वित्तीय संस्थाहरू कठोर बने आफूहरू पनि कठोर बन्ने चेतावनीसमेत दिएका छन् ।
वित्तीय संस्थासँगको अन्तरक्रिया कार्यक्रममा व्यवसायीले बैंकहरू कठोर हुँदै गर्दा पनि राज्यका निकाय मूकदर्शक बनेको गुनासो गरे । संघका अध्यक्ष धनबहादुर रावतले सबैखाले आन्दोलन समाप्त गरेर आर्थिक समृद्धिको यात्रामा रहेका बेला बैंकहरूले व्यापारी व्यवसायीलाई फेरि आन्दोलनमा जान बाध्य पारेको गुनासो गरे ।
बैंक र व्यापारी दुवैले व्यापार नै गर्ने भएको हुँदा दुवैको सम्बन्ध निरन्तर सुमधुर हुनुपर्ने भन्दै उनले आन्दोलनमा जान बाध्य नपार्न आग्रह गरे । निजी क्षेत्र नै कुण्ठित र संकुचित हुने गरी बैंकले ब्याज बढाएर मात्र दीर्घकालीन आर्थिक समृद्धि नहुने भन्दै अध्यक्ष रावतले अभिभावकका रूपमा रहेको राज्यले निजीक्षेत्रको पीरमर्का पनि बुझिदिनु पर्ने धारणा राखे ।
संघका महासचिव लक्ष्मण कँडेलले बैंकहरूले मुद्दती खातामा धेरै ब्याज दिने प्रलोभन देखाएर बैंकमा पैसा थुपार्दा त्यसको प्रत्यक्ष मारमा व्यापारी परेको बताए । बैंक र राज्यका ढुकुटीमा पैसा थुपारेर मात्र अर्थतन्त्र नउकासिने भन्दै उनले अर्थतन्त्रलाई उकालो लगाउन चलायमान बनाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।
कार्यक्रममा बैंकर्स एशोसिएशन सुर्खेतका अध्यक्ष पदम धानुकले व्यापारीले बेच्ने सामानको मूल्य समयक्रम सँगै बढेजस्तै बैंकको ब्यादर पनि समयसापेक्ष रूपमा बढिरहेको तर्क गरे । बैंकको ब्याजदर घटाउने/बढाउने अधिकार शाखा प्रबन्धकलाई नभएको उल्लेख गर्दै व्यापारीका गुनासालाई माथिल्लो निकायसम्म पुर्याउने माध्यमका रूपमा काम भने गर्नसकिने उनको भनाइ थियो ।
ज्योति विकास बैंक शाखा सुर्खेतका प्रबन्धक गंगाप्रसाद न्यौपानेले मिटरब्याजको प्रलोभनमा बैंकभन्दा बाहिर अनौपचारिक रूपमा आर्थिक कारोबार सञ्चालन गरिएका कारण समस्या आएको तर्क गरे ।