कैलाली–कञ्चनपुरमा २०५ खानेपानी आयोजना : बजेट अभावले निर्माणमा समस्या
Feb 18, 2019
 
प्रदेश समाचार
धनगढी । कैलाली र कञ्चनपुरमा सञ्चालन हुने २०५ खानेपानी आयोजनाको निर्माणमा समस्या भएको छ । संघीय सरकारबाट आएका १८२ तथा प्रदेश सरकारबाट आएका २३ ओटा खानेपानी आयोजनामा बजेट अभाव भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनगढीले बताएको छ । क्रमागत योजना अन्तर्गत कैलाली र कञ्चनपुरका विभिन्न क्षेत्रमा खानेपानी योजना निर्माणका लागि काम भइरहेको डिभिजन कार्यालयका प्रमुखमोहनबहादुर कुँवरले जानकारी दिए । संघीय सरकारबाट हस्तान्तरण भएर आएका आयोजनाका लागि ३५ करोड तथा प्रदेश सरकारका आयोजनाका लागि ७ करोड मात्र बजेट हुँदा निर्माण अघि बढाउन समस्या भएको कार्यालयले बताएको छ । ती आयोजना निर्माणका लागि १० अर्ब आवश्यक पर्ने डिभिजन प्रमुख कुँवरले बताए ।
सुदूरपश्चिम प्रदेश सरकारबाट प्राप्त २३ ओटा योजनामध्ये १७ ओटाको निर्माणका लागि डीपीआर सम्पन्न भएको कुँवरले जानकारी दिए । संघीय सरकारबाट हस्तान्तरण गरिएका १८२ आयोजनाको निर्माण प्रगति माघ मसान्तसम्म १३ प्रतिशत मात्रै देखिएको उनको भनाइ छ । कैलाली–कञ्चनपुरका ७ लाख ६० हजार जनतालाई खानेपानी पु¥याउने लक्ष्य छ । यसका लागि दर्जनौं आयोजना निर्माणाधीन रहे पनि पर्याप्त बजेट नहँुदा उक्त सम्पन्न गर्न वर्षौं लाग्ने देखिएको छ ।
हाल कैलालीमा २० र कञ्चनपुरमा ८ प्रतिशत जनता मात्र शुद्ध खानेपानीको पहुँचमा रहेको कुँवरले जानकारी दिए । चुरे क्षेत्रमा चुनका कारण निर्माण सम्पन्न योजनाको उचित मर्मत सम्भार गर्न नसकिएको उनको भनाइ छ । निर्माणाधीन योजना ५ वर्षभित्र सम्पन्न गर्नुपर्ने म्याद तोकिएको छ ।
कैलाली र कञ्चनपुरमा डीप ट्युबवेलबाट पानी वितरण गरिँदै आएको कार्यालयले बताएको छ । कैलाली–कञ्चनपुर हेर्नेगरी धनगढीमा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय राखिए पनि पर्याप्त कर्मचारी छैनन् ।