पर्वत । उमेरले ६५ वर्ष लागे पनि फलेवास–४ का नरेश्वर पौडेलको जाँगर कम छैन । २०७३ सालमा शिक्षक पेशाबाट अवकाश पाएपछि उनी व्यावसायिक मौरीपालनमा लागेका छन् । उसो त उनी पेशामा रहँदैदेखि मौरीपालनमा संलग्न थिए । अवकाशपछि फुर्सदिलो भएकाले उनी यसैलाई मुख्य पेशा बनाएर मनग्गे आम्दानी गर्दै आइरहेका छन् ।
अहिले उनको घरको कौसी र आँगनमा २६ घार मौरी छन् । घरको आँगननजिकैको बारीमा तरकारीले ढकमक्क ढाकिएको छ । मौरीपालन र तरकारी खेतीबाट पौडेल मासिक रू. २५ देखि ३० हजार सजिलै कमाउने गरेको बताउँछन् । मौरीपालनमा लागेपछि पौडेललाई समय सजिलै गएको छ भने आम्दानी पनि भइरहेको छ ।
पौडेल मौरीको घारबाट वर्षमा ३ पटक मह निकाल्छन् । फागुन, मंसिर र जेठमा मह निकाल्ने गरेको उनले बताए । एउटा घारबाट वर्षमा १५ देखि २० किलो मह उत्पादन हुन्छ । अहिले महको बजारमूल्य प्रतिकिलो १२ सय रुपैयाँ छ । उनलाई मह विक्री गर्न घरबाहिर निस्किन पर्दैन ।
‘गाउँमा अन्त कतै मह पाइँदैन,’ स्थानीय सुनिल गौंडेलले भने, ‘मह किन्न पहिल्यै नभने पाइँदैन ।’ फलेवास नगरपालिकामा व्यावसायिक रूपमै मौरी पाल्ने किसान नरेश्वर मात्रै हुन् । स्थानीय प्राकृतिक जडीबुटी र फूलको रस खाएका मौरीको मह स्वस्थकर मात्रै नभई विभिन्न रोगको औषधिका रूपमा समेत प्रयोग हुने गरेको छ । बागलुङको बलेवास्थित एक प्राथमिक विद्यालयमा अध्यापन गर्ने क्रममा बाटोमा पर्ने जंगलबाट माहुरी ल्याएर घार विस्तार गरेको उनी सम्झन्छन् । उनी माहुरी अझ विस्तार गर्ने योजनामा छन् । ‘यो वर्ष नगरपालिकामा २० घार र महदानी (मह निकाल्ने मेशिन) माग गरेको छु,’ उनले भने, ‘त्यो सहयोग पाए ५० घारसम्म बनाउने योजना छ ।’
दुई दशकदेखि यो व्यवसायमा लागेका पौडेलले कुनै औपचारिक तालीम लिएका छैनन् । सरकारी तथा गैरसरकारी निकायबाट कुनै आर्थिक र प्राविधिक सहयोग पनि उनलाई आएको छैन । फलेवास नगरपालिकाका प्रमुख पदमपाणि शर्माले नगरपालिकामा अन्यत्र व्यावसायिक मौरीपालन नभएको अवस्थामा नरेश्वरलाई सहयोग मात्रै नभएर प्रोत्साहन पनि गरी अन्यत्र विस्तार गर्ने सोच बनाएको बताए ।