कर्णाली प्रदेश : निर्वाह भत्तासहित स्वयंसेवक परिचालन गरिँदै
Feb 19, 2019
 
प्रदेश समाचार
सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेशका १० जिल्लामा बजेट खर्च गर्न स्वयंसेवक खटाउने तयारी गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले फागुनमै स्वयंसेवक परिचालन कार्यविधि–२०७५ कार्यान्वयन ल्याएर स्वयंसेवक परिचालन गर्ने तयारी गरेको जानकारी दिएको छ ।
‘स्वयंसेवक छनोटका लागि प्रदेश मन्त्रालयले अनाइनमार्फत आवेदन आह्वान गर्न लागेको छ,’ मन्त्रालयका सचिव मानबहादुर विकले भने । उनका अनुसार फागुनको तेस्रो सातासम्म आवेदन संकलन शुरू गरिनेछ । ‘कर्मचारी अभाव भएका बेला पर्याप्त बजेट खर्चिन प्रदेश सरकारलाई चुनौती बनेको छ,’ उनले भने, ‘बेरोजगार युवायुवतीलाई छनोट गर्दै प्रदेश सरकारले सहयोगीका रूपमा स्वयंसेवक खटाउन लागेको हो ।’
स्वयंसेवकलाई निश्चित मापदण्ड कार्यविधिले निर्दिष्ट गरेकाले सोहीअनुसार जीवन निर्वाह भत्ता पाउने उनले बताए । कार्यविधि अनुसार प्रवेशिका परीक्षा उत्तीर्णदेखि स्नातकोत्तर उत्तीर्णसम्मले स्वयंसेवकका लागि आवेदन दिन सक्नेछन् । प्रदेशले आवेदनका आधारमा आवश्यकताअनुसार स्वयंसेवक परिचालन गर्नेछ । पहिलो चरणमा नै सरकारले दुई सय ३० जना स्वयंसेवक परिचालन गर्ने तयारी थालेको छ । जिल्लागत रूपमा कार्यविधिले दरबन्दी नै कायम गरेको छ ।
कार्यविधि अनुसार ‘क’ वर्गका डोल्पा, मुगु र हुम्ला जिल्लामा २८/२८ जना, ‘ख’ वर्गको जुम्ला र कालिकोट जिल्लामा २४/२४ जना र जाजरकोटमा २३ जना स्वयंसेवकको दरबन्दी कायम गरिएको छ । ‘ग’ वर्गका पश्चिम रुकुम र दैलेखमा २१/२१ जना र सल्यान जिल्लामा १८ जना स्वयंसेवक परिचालन गर्ने कार्यविधिमा उल्लेख छ । सुर्खेतमा भने १५ जना स्वयंसेवक परिचालन गरिनेछ ।