ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पूर्व लाहुरेहरुले बनाए बास्कुनालाई ‘एफएम भिलेज’

Feb 19, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

फागुन ७, म्याग्दी । धेरै वर्षसम्म विदेशमा बसेर गाउँमा फर्किएका म्याग्दीको बेनी नगरपालिका ४ बास्कुनाका लाहुरेहरुले आफ्नो गाउँलाई ‘एफएम भिलेज’ अर्थात् फूड एण्ड मिल्क भिलेज (फलफूल र दूधको गाउँ) बनाएका छन् । गाउँमा कृषिको राम्रो सम्भावना देखेपछि अवकाश प्राप्त लाहुरे र बैदेशिक रोजगारमा गएका युवाहरु गाउँमै फर्किएर कृषि पेशामा लागेका छन् ।

उनीहरुले पशुपालन र तरकारी तथा फलफूल खेति गरी दूध, तरकारी र फलफूलहरु उत्पादन गरी गाउँलाई नै फलफूल र दूधको गाउँ अर्थात् ‘एफएम भिलेज’ बनाएका हुन् । लाहुरेको जिल्ला भनेर चिनिने म्याग्दी जिल्लाको परिचय फेर्न तिनै ‘लाहुरे’ कस्सिएपछि गाउँका अरु मानिसहरु पनि फलफूल खेति तथा पशुपालनमा लागेका जिल्ला कृषि ज्ञान केन्द्र म्याग्दीले बताएको छ ।

दुई वर्ष साउदी अरबको अल लाइट कम्पनीमा काम गरेर फर्केका तिलक गुरुङले भैंसी पालन, तरकारी खेति र सुन्तला खेतिबाट शुरु गरेको यस्तो अभियान अहिले गाउँभरी विस्तार भएको स्थानीय श्याम खत्रीले बताए । गुरुङले केञ्जन बहुउद्देश्यीय सहकारी संस्था दर्ता गरेर कृषि र पशुपालन गर्दै आएका छन् ।

बैदेशिक रोजगारवाट फर्केका यहाँका युवाले कृषि र पशुपालनमार्फत वार्षिक रू. १२ लाखसम्म कमाइ गर्न थालेका छन् । यो विदेशमा ६ वर्षमा हुने कमाइभन्दा बढी भएको तिलक गुरुङले बताए । पशुपालन, दुग्ध उत्पादन, तरकारी र फलफूल खेति, पोल्ट्री फार्म आफूहरुको प्रमुख पेशा भएको गुरुङले बताए ।

त्यसैगरी ६ वर्षसम्म विदेश (कतार)मा बसेर फर्केका अर्का युवा मनवहादुर खत्रीले पनि गाउँमै पशुपालन र फलफूल तथा तरकारी खेति गरेका छन् । पाँच ओटा उन्नत जातका भैंसी पालेर तरकारी र फलफूल खेति सुरु गरेका खत्र्रीले मासिक ५० हजार रुपैयाँसम्म कमाइ गर्ने गरेका छन् । खत्रीले भने, ‘अर्काको देशमा पसिना बगाउन सक्ने हामीले आफ्नै स्वर्गलाई मरुभूमि बनाएछौं, उमेर बित्दै जाँदा चेत आयो, राम्रै भयो ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)