रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–१ स्थित नुनथर क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गरिने भएको छ । धार्मिक महत्वको सो क्षेत्रको विकासका लागि केन्द्र, प्रदेश र स्थानीय तहले गरी चालू आर्थिक वर्षमा १ करोड रुपैयाँ विनियोजन भएको उक्त वडाका अध्यक्ष वीरु रखालले बताए ।
हाल सो क्षेत्रमा विभिन्न भगवान्का मूर्तिहरू निर्माणाधीन छन् । भगवान् शिवको करीब ३५ फिट अग्लो मूर्ति निर्माण भइरहेको रखालले जानकारी दिए । सिन्धुली, रौतहट, मकवानपुर र सर्लाहीको संगम स्थलमा पर्ने नुनथर क्षेत्रमा पछिल्लो समय पर्यटकको संख्या बढेको छ । रौतहट र सर्लाहीको सिमाना भएर बगेको बाग्मती नदी र महाभारत पहाडको दृश्यावलोकन गर्न भारतको विहारबाट समेत पर्यटक आउने गरेको रखालले बताए ।
यस क्षेत्रको पानी नुनिलो रहेकाले नै नुनथर नामले प्रख्यात रहेको र उक्त पानीमा नुहाएमा चर्म रोग निको हुने जनविश्वास छ । ठूलो एकादशी र साउनको बोलबम लगायत अवसरमा यहाँ मेला लाग्ने गरेको छ । हालसम्म निःशुल्क प्रवेश गर्न पाइने यस स्थानमा थप व्यवस्थित गर्दै लगेपछि सशुल्क गर्ने तयारी नुनथर विकास समितिको छ ।