ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपाल–बंगलादेश व्यापार : निर्यातमा उच्च भन्सार दर घटाउन माग

Feb 22, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । उद्योगीले नेपाली वस्तु तथा सामानमा बंगलादेशले लगाएको उच्च भन्सार दर कम गराउन सरकारले पहल गर्नुपर्ने माग गरेका छन् । बिहीवार विराटनगरमा आयोजित अन्तरक्रियामा उद्योगी/व्यवसायीले उच्च भन्सार दरले बंगलादेशमा सामान निर्यात गर्न समस्या रहेको गुनासो गरेका हुन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, नेपाल–भारत क्षेत्रीय व्यापार तथा पारवहन आयोजना समन्वय कार्यालय र मोरङ व्यापार संघको संयुक्त आयोजनामा अन्तरक्रिया गरिएको हो । नेपाल–बंगलादेश व्यापारका अवसर र चुनौती विषयक अन्तरक्रियामा उद्योगी/व्यवसायीले बंगलादेशसँग बढ्दै गएको व्यापार असन्तुलनमा सरकारले ध्यान नदिएको बताएका छन् । सन् २०१४ सम्म बंगलादेशसँग नेपालको व्यापार सन्तुलनमा रहेता पनि त्यसयता नेपालले एकतर्फी रूपमा व्यापारघाटा बेहोरिरहेको व्यवसायीले बताएका छन् । नेपालले बंगलादेशबाट उपभोग्य वस्तु आयात गर्दा भन्सार महशुल ३० प्रतिशत मात्र लिने गरेको छ, तर नेपालबाट निर्यात गर्दा बंगलादेशले ११० प्रतिशत भन्सार महशुल लिने गरेको छ । यसले व्यापारघाटा वृद्धि र निर्यात ठप्पजस्तै भएको छ । बंगलादेशले लिने भन्सार महशुल १५ प्रतिशत कायम गरिनुपर्ने मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले बताए । उनले बैंकिङ प्रक्रिया पनि छिटो नरहेको भन्दै मालसामान २ दिनमा पुग्ने तर बैंक डकुमेन्ट पुग्न ५ दिन लाग्ने गुनासो गरे । नेपालबाट वार्षिक रू. १ अर्बको वस्तु तथा सामग्री बंगलादेश निर्यात हुने गरेको छ भने बंगलादेशबाट ५ अर्ब रुपैयाँको सामान आयात हुने गरेको सारडाले बताए । गत आर्थिक वर्षमा बंगलादेशबाट जुस, जुट, आलु, मिल्क पाउडर, रेडिमेट कपडा तथा इलेक्ट्रोनिक सामान आयात भएको छ । नेपालबाट दाल, चोकर, अदुवा, अलैंची लगायत निर्यात भएका छन् । अहिले प्रदेश नम्बर १ बाट बंगलादेशमा कृषिजन्य वस्तु, फलफूल, हरियो तरकारी, दाल, नगदे बाली एवं जडीबुटीको निर्यात गर्न सकिने उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले बताए । पर्यटनका लागि विराटनगरदेखि बंगलादेशसम्म हवाई उडान र रेल्वे सेवा शुरू गर्न सकिने भए पनि सरकारले ध्यान नदिएको घिमिरेको भनाइ छ । नेपाल बंगलादेश चेम्बर अफ ट्रेडर्स झापा धुलाबारीका अध्यक्ष पन्नालाल जैनले बंगलादेशबाट नेपालमा आयात हुन सजिलो भएको र निर्यातमा कठिनाइ भएको बताए । प्रदेश नं. १ का वन, पर्यटन तथा उद्योगमन्त्री जगदीश कुसियैतले उद्योगीका समस्या समाधान गर्न प्रदेश सरकार तयार रहेको भन्दै यस विषयमा गम्भीरताका काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुले बंगलादेशसँग व्यापार बढाउन सरकारले पहल गरिरहेको बताए । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वसदस्य एवं साउटीका चेयरमेन डा. पोषराज पाण्डे, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधान लगायतले धारणा राखेका थिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)