पर्वत । कुश्मा नगरपालिकाले नगरभित्रका मुख्य तथा भित्री सडकको कालोपत्र शुरू गरेको छ । पूर्वाधार विकास विभागमार्फत ९ करोड रुपैयाँ खर्च गरेर सडक कालोपत्र गर्न लागिएको हो । नगरभित्रको ३ किलोमिटर सडक चालू आर्थिक वर्षभित्रै सक्नेगरी शिवालयचोक, धनेश्वरचोक, मैत्रीचोक, मेलमिलापचोक लगायतका क्षेत्रमा सडक विस्तार र कालोपत्रको काम शुरू भएको छ ।
बजारक्षेत्रका मुख्य सडक ८ मिटर चौडा पारेर कालोपत्र गर्न शहरी विकास तथा पूर्वाधार विकास विभागबाट स्वीकृति लिएको नगरपालिकाले मुख्य बजारक्षेत्रमा मापदण्ड कायम गरेको छ । ‘मुख्य र भित्री बजारका सबै सडक न्यूनतम ८ मिटर चौडा बनाउने योजना छ,’ नगरप्रमुख रामचन्द्र जोशीले भने, ‘पुरानो सडकको संरचना सबै फेरिँदै छ ।’
सबैजसो सडक कालोेपत्रका लागि आवश्यक रकम विनियोजन भइसकेको नगरप्रमुख जोशीले जानकारी दिए । ‘भित्री सडकको कालोपत्र आगामी वैशाखसम्म पूरा गर्ने लक्ष्य छ,’ उनले भने । २०४८ मा मुख्य बजारक्षेत्रको करीब ६ किलोमिटर सडक मात्रै कालोपत्र गरिएको थियो । कालोपत्र भएको २७ वर्षसम्म सडक मर्मत नहुँदा ठाउँठाउँमा खाडल परेको छ भने नाली सबै भत्किएको छ ।
सबै सडक कालोपत्र गर्दा सदरमुकामको मुख्य बजारक्षेत्रको करीब ११ किलोमिटर सडक कालोपत्र हुने जोशीले जानकारी दिए । अहिले नाली भत्काएर नयाँ नाली बनाउने काम भइरहेको छ । बजारका बाहिरी सडक पनि स्तरोन्नतिको चरणमा छन् ।