फागुन ११, धनगढी । नेपाल राष्ट्र बैंकले घरजग्गा मूल्य सूचकांक संकलन गर्ने भएको छ । राष्ट्र बैंकको अनुसन्धान विभागको टोलीले यसका लागि धनगढीमा सरोकारवालाहरुसँग छलफल गरेको छ । सुदूरपश्चिम प्रदेशबाट पहिलोपटक यसप्रकारको अन्तरक्रिया कार्यक्रमको आयोजना गरी घरजग्गाको तथ्यांक संकलनका लागि आवश्यक तयारी अघि बढाएका अनुसन्धान विभागका कार्यकारी निर्देशक डाक्टर गुणाकर भट्टले बताए । घरजग्गा मूल्य सूचकांकको आवश्यकता विगत १० वर्षयता देखिदै आएपनि ढिलै भए पनि राष्ट्र बैंकले यो विषयमा तथ्यांक संकलनका लागि सरोकारवालाहरुसँग व्यापक छलफल र सुझाव संकलन गर्ने कार्ययोजनाअन्तर्गत यस प्रकारको सुझाव संकलन सुदूरपश्चिम प्रदेशबाट शुरु गरेको उनले बताए ।
राष्ट्र बैंक केन्द्रिय अनुसन्धान विभागले शनिवार धनगढीमा आयोजना गरेको घरजग्गा मूल्य सूचकांक छलफल कार्यक्रममा निर्देशक भट्टले ६ ओटा महानगरपालिकालाई घरजग्गा तथ्यांक श्रोत केन्द्रको रुपमा स्थापित गरी तथ्यांक संकलन गर्ने योजना बनाएको बताइएको छ । साढे १३ प्रतिशत बैंक तथा वित्तीय संस्थाहरुको लगानी घरजग्गा कारोबारमा भएको बताउँदै अनुसन्धान विभागका कार्यकारी निर्देशक भट्टले भरपर्दो तथ्यांक संकलनका लागि बैंक, महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका तथा पालपोत कार्यालय बलियो श्रोत बन्न सक्ने बताए । हाल नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरुसँग ३० खर्ब रुपैयाँ निक्षेपको रुपमा पूँजी रहेको बताउँदै उनले घरजग्गामा पनि ठूलो लगानी रहेकाले कुन मापदण्डमा रहेर तथ्यांक संकलन गर्दा अझ भरपर्दो र विश्वसनीय हुन्छ भनेर ७ ओटै प्रदेशमा छलफल चलाउने योजनाअन्तर्गत धनगढीबाट शुरु गरिएको उनले बताए ।
‘हामी घरजग्गाको सूचकांक तयार पार्दैछौं, त्यसका लागि सरोकारवालाहरुसँग घनिभूत रुपमा छलफल गरेर त्यसको प्रारुप तयार गर्नेछौं,’ अनुसन्धान विभागका उप निर्देशक गिरिजाप्रसाद कोइरालाले बताए । राष्ट्र बैंकले हालसम्म घरजग्गाको मूल्य सूचकलाई मापन नगरिरहेको अवस्थामा त्यसको आवश्यकता बढ्दै गएका कारण तथ्यांक संकलनका लागि छलफल अघि बढाएको उनले बताए । उनका अनुसार कुल कर्जामध्ये २०७५ पौष मसान्तसम्म ६३ दशमलव १ प्रतिशत कर्जा घरजग्गाको धितो सुरक्षणमा प्रवाह भएको छ । घरजग्गा मूल्य सूचकांक निर्माण गर्दा विभिन्न मुलुकहरु विभिन्न विधिहरु अवलम्बन गरेका छन् । भारतले तीनओटा विधि अपनाएर तथ्यांक संकलन गर्दै आएको छ । सानो, मध्यम तथा ठूलो गरी सरकारी रजिष्टेशन कार्यालयबाट कारोवार मूल्य निकाल्दै भारतले घरजग्गाको मूल्य सूचकांक निकाल्दै आएको बताउँदै उपनिर्देशक कोइरालाले भरपर्दो विधि अपनाएर तथ्यांक संकलन गरिने बताए ।