मध्यपहाडी लोकमार्गको सुदूरपश्चिम खण्ड : १० वर्षमा ५६ किमी कालोपत्र
Feb 24, 2019
 
प्रदेश समाचार
धनगढी । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तर्गत सुदूरपश्चिम प्रदेशमा १० वर्षमा ५६ किलोमिटर सडकको कालोपत्र भएको छ । बैतडीमा १४ किमी र अछाममा ४० किमी सडक कालोपत्र गरिएको हो । लोकमार्गको सुदूरपश्चिम खण्डको २० किमी सडक अझै कालोपत्र हुन बाँकी छ ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत सुदूरपश्चिम प्रदेशमा पर्ने सडक खण्डको कालोपत्रको काम ढिलै भए पनि अन्तिम चरणमा पुगेको बताइएको छ । २०७६ वैशाख १५ भित्र सक्ने गरी ठेक्का सम्झौता गरिएकाले निर्माणले अपेक्षाकृत गति लिएको हो । अछाम खण्डमा पर्ने ६० किमी सडकलाई चारखण्डमा विभाजन गरी काम अघि बढाइएको मध्यपहाडी लोकमार्ग पश्चिम खण्डका इन्जिनीयर तुलाराम शर्माले बताए ।
लोकमार्गको निर्माण २०६५ देखि शुरू भएको थियो । आयोजना निर्माणले अपेक्षित गति लिएकाले तोकिएकै समयमा निर्माण सम्पन्न हुने शर्माले बताए । आगामी चैतभित्रै कालोपत्र सक्ने लक्ष्य राखिएको छ भने कैलाशखोलादेखि विनायक जोड्ने पुल निर्माण गर्न डीपीआरको तयारी भइरहेको मध्यपहाडी लोकमार्ग पश्चिम खण्डका प्रमुख नारायण न्यूरेले जानकारी गराए । मध्यपहाडी लोकमार्गले सुदूरपश्चिम प्रदेशमा बेलखेत, विनायक, मंगलसेन, साँफेबगर, सिलगढी, डडेलधुरा, पाटन, सतबाँझ हुँदै झुलाघाट जोड्नेछ ।
मध्यपहाडी लोकमार्गले बैतडीको काम सम्पन्न गरिसकेको छ भने अछाममा चालू आवभित्रै सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ । डडेल्धुरा र डोटीमा भने अहिलेकै राजमार्गसंग मध्यपहाडी लोकमार्ग जोडिनेछ । ती क्षेत्रमा मध्यपहाडी लोकमार्गकै मापदण्डमा ल्याउन आवश्यक छलफल भइरहेको न्यूरेले बताए ।