ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश नं. १ को विकास बजेट : खर्च प्रगतिमा आर्थिक मामिलामन्त्री नै असन्तुष्ट

Feb 24, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई
विराटनगर । प्रदेश नम्बर १ को समग्र बजेट खर्च र विकास खर्च उत्साहजनक रूपमा नभएको भन्दै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो आफै असन्तुष्ट देखिएका छन् । दोस्रो चौमासिकको माघ मसान्तसम्म १० प्रतिशत मात्रै कुल बजेट खर्च भएको भन्दै आर्थिक मामिला तथा योजनामन्त्री आङ्बोले प्रदेशको खर्च उत्साहजनक नभएको बताए । प्रदेशसभाको बैठकमा मन्त्रालयसँग सम्बन्धित प्रश्नमाथि जवाफ दिने क्रममा मन्त्री आङ्बोले अहिलेसम्म ४० प्रतिशत पूँजीगत खर्च भइसक्नुपर्ने बताएका हुन् । ‘दोस्रो चौमासिकको अन्तिमसम्म मोटामोटी १० प्रतिशत पूँजीगत खर्च भएको छ, यो उत्साहजनक खर्च होइन,’ उनले भने । उनले संघीय सरकारको विकास बजेट खर्चको प्रगति अहिलेसम्म १८ प्रतिशतमात्रै देखिएको र आफै नीति बनाउने, संयन्त्र खडा गर्न सक्ने स्थानीय तहको पनि पूँजीगत खर्च उत्साहजनक नभएको जानकारी दिए । प्रदेशको विकास बजेट खर्चमा गति नदेखिनुको पछाडि संघीय सरकारबाट समयमा संरचना हस्तान्तरण नहुनु र आवश्यक संख्याको ६० प्रतिशतमात्रै कर्मचारी प्रदेशमा कार्यरत हुनु मुख्य कारण भएको मन्त्री आङ्बोको तर्क छ । साथै सबैभन्दा ठूलो अंकको बजेट खर्च गर्ने भौतिक पूर्वाधार विकास मन्त्रालयका योजनाहरूको विस्तृत सम्भाव्यता अध्ययन भर्खरै शुरू भएको र भुक्तानीको प्रक्रिया शुरू नभएका कारण पनि पूँजीगत खर्चको प्रगति नदेखिएको उनले बताए । चालू आर्थिक वर्षमा विनियोजित ३५ अर्ब ९३ करोड ६० लाख रुपैयाँको बजेटमध्ये ५१ दशमलव ५ प्रतिशत हुने १८ अर्ब ५० करोड ९२ लाख रुपैयाँ पूँजीगततर्फ छुट्याइएको छ । उक्त पूँजीगत खर्च प्रदेश सरकारले खर्च गर्न नसकेर नभई वित्तीय अनुसशासनभित्र रहेर खर्च गर्न खोजेको उनले सदनलाई जानकारी दिए । त्यही भएर अपेक्षाअनुसार पूँजीगत खर्च नभएको उनको भनाइ छ । प्रदेश लेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको माघसम्मको आयव्यय विवरणमा पनि कुल बजेटको खर्च प्रतिशत ९ दशमलव १४ प्रतिशतमात्रै देखाइएको छ । माघसम्मको पूँजीगत खर्च पनि ६ दशमलव ६९ प्रतिशतमात्रै भएको उल्लेख छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)