रौतहट । रौतहटको लालबकैया नदीमा निर्माण अलपत्र रहेको पुलको काम शुरू भएको छ । पुल निर्माणको जिम्मा पाएको पप्पु कन्स्ट्रक्शनले पुनः काम थालेको हो । विवादका कारण उक्त पुलको निर्माण अधुरो थियो ।
गत भदौ ९ गते उक्त नदीमा डुंगा दुुर्घटनामा परेर ५ जनाको ज्यान जाँदा निर्माण कम्पनीले समयमै पुल निर्माण नगरेको भन्दै दुर्घटनाको दोषी देखाइएको थियो । निर्माण शुरू भएको चार वर्षमा पुलको ६० प्रतिशत मात्र काम भएको गौर नगरपालिका–४ का वडाध्यक्ष भुनेश्वरकुमार साहीले बताए । निर्माण कम्पनीको ढिलासुस्ती कारण समयमा नै निर्माण सम्पन्न नभएको उनको आरोप छ ।
लालबकैया नदीमा पुल बनेपछि गौर तथा ईशनाथ नगरपालिकाका बासिन्दा लाभान्वित हुनेछन् । हाल नदीमा बनाइएको बाँसको कच्ची पुलबाट स्थानीय आवतजावत गर्छन् । २०७१ असार २९ गते १४ करोड ९३ लाख रुपैयाँमा पप्पु कन्स्ट्रक्शनले ठेक्का सकार गरेर २०७४ असार २५ गतेभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो ।
तर, सम्झौताअनुसार पुलको निर्माण सम्पन्न हुन सकेन । दुई नगरपालिका जोड्ने उक्त पुलको निर्माण थालनी भएको र अहिले तेस्रो स्पानको काम भइरहेको छ । पुल निर्माणको काम तीव्र गतिले भइरहेकोले हुँदा यस वर्ष काम सक्ने योजना रहेको पप्पु कन्स्ट्रक्शनका इन्जिनीयर सुरेन्द्र यादवले बताए ।