ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नेपालको खोलामा कच्ची पुल बनाएर रकम असुल्दै भारतीय

Feb 24, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

फागुन १२, विराटनगर । मोरङको जहदा गाउँपालिका भएर बग्ने सिंगिया खोलामा भारतीय नागरिकले कच्चीपुल बनाएर रकम असुल्दै आएको पाइएको छ । वर्षैभरि करीब चार फिट पानी बग्ने सो खोलामा सरकारीस्तरबाट पुल बनाउने प्रयास नभएकै कारण बिगत ८ वर्षदेखि भारतीय नागरिक जगमलाल रामले खोलामा बासँको कच्ची पुल बनाएर आउजाउ गर्नेसँग रकम लिदै आएका छन् ।

छिमेकी भारतको बिहार प्रान्तको फूलकाही निवासी ७५ वर्षीय रामले सो खोलामा ३२ फिट लामो कच्ची पुल बनाएर स्थानीयवासीबाट रकम लिने गरेका हुन् । सो कच्ची पुल भएर दैनिक २ हजारको हाराहारीमा सर्वसाधारण आउजाउ गर्ने गरेका छन् । स्थानीयवासीले कच्ची पुल तरे बापत रामलाई वर्षेनि प्रतिपरिवार १ मनसम्म धान र गहुँ दिने गरेका छन् । जहदा–२ का सुनिल राजवंशीले निरन्तर आउजाउ गर्दा स्थानीयवासीले सधैं रकम तिर्नु परेको बताए ।

भारतीय नागरिक राम आफ्नी श्रीमती अनपीदेवीसँगै ऐलानी जग्गामा घर बनाएर बसेका छन् । उनले कच्ची पुल ओहोर–दोहोर गर्ने मोटरसाइकलबाट १० र साइकल तथा पैदल यात्रीबाट ५ रूपैयाँ रकम असुल्ने गरेका छन् । वर्षमा एक पटक कच्ची पुल बनाउँदा खर्च भएको रकम असुल्ने गरेको रामले बताए । पुल बनाउँदा वर्षेनि १०० घना बाँस लाग्ने गरेको उनको भनाइ छ ।

साविक बुधनगर गाविसको धुनी टोल र भातिगछको सीमाना हुँदै बग्ने सो खोलमा पुल नबन्दा शुल्क तिरेर कच्ची पुलबाट ओहोर–दोहोर गर्न बाध्य भएको स्थानीयको गुनासो छ । वर्षाको समयमा असार महीनादेखि आउजाउ गर्नेलाई ढुंगाबाट वारीपारी ओहोर–दोहोर गराउने गरेको उनले बताए । उनका अनुसार हरेक वर्षको असोज महीनामा एक पटक कच्ची पुल बनाउने गरिएको छ ।

सो स्थानमा पक्की पुल छैन भने विद्युत सेवा समेत पुगेको छैन । स्थानीयवासी दिपेशकुमार चौधरीले विद्युतको व्यवस्था नभएकाले रातको समयमा सो पुलबाट ओहोर–दोहोर गर्दा सर्वसाधारण लडेर गम्भीर घाइतेसमेत भएको बताए । अर्का स्थानीयवासी चन्दन गिरीले खोला पारीको खेतमा उत्पादिन अन्न ल्याउन समेत समस्या भइरहेको गुनासो गरे । कच्ची पुलबाट भारी बोकेर जाँदा जोखिम भएकाले दुई घण्टाको अर्को बाटो प्रयोग गर्नु परिरहेको उनले बताए ।

यता जहदा गाउँपालिका–२ का वडा अध्यक्ष राजेश श्रेष्ठले एक दर्जन बस्तीका बासिन्दाले प्रमुख मार्गका रूपमा सो पुल प्रयोग गर्ने गरेको बताए । हाल सो सडक केन्द्रीय सडकअन्तर्गत परेकाले पुल बनाउन नसकेको उनले बताए । पूरै गाउँपालिकाका बासिन्दाका साथै पूर्वी भारतीय सीमावर्ती क्षेत्रका सुन्दरी मठ र डुम्रहासम्मका बासिन्दालाई समस्या भएको उनले बताए । सो क्षेत्रका बासिन्दाको प्रमुख बजार भारतीय सीमावर्ती बजार जोगवनी भएकाले दैनिक आउजाउमै समस्या भइरहेको उनले बताए । पुल नबन्दा बुधनगर, भातिगछ, हरिनगरा, धुनीसहित जहदा गाउँपालिकाका सात वडामध्ये १, २, ३, ५ र ७ वडाको ग्रामीण क्षेत्रका नागरिक प्रत्यक्षरूपमा प्रभावित भएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)