ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सरकारी जग्गामा पहुँचवालाकै रजाइँ : नगर विकासद्वारा आफूखुशी जग्गा वितरण

Feb 25, 2019  
मुख्य खबर प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक
सुर्खेत । सुर्खेत उपत्यकाको गुरुयोजनामा नगर विकास समितिको मातहतमा रहेको जग्गालाई स्पष्ट रूपमा विभिन्न १२ क्षेत्रका लागि प्रयोग गर्न सकिने भनेर उल्लेख गरिएको छ । तर, नगर विकास समिति स्थापना भएयताका पदाधिकारीहरूले धमाधम निर्णय गर्दै आफू निकटका व्यक्ति र संस्थाहरूलाई मनलाग्दी जग्गा वितरण गरेका छन् । गुरुयोजनामा कुनै व्यक्ति वा संस्थाका लागि भाडामा दिनेगरी जग्गा छुट्याइएको छैन । १८४ बिघा जग्गा समितिको स्वामित्वमा देखिन्छ । तर समितिले सुर्खेतमा दलका पार्टी कार्यालय, सञ्चार गृह र व्यापारीहरूलाई हचुवामा जग्गा वितरण गरेको छ । ‘पहिला पहुँचका आधारमा पदाधिकारीले जग्गा बाँडे, गुरुयोजना विपरीत दल र कार्यकर्ता रिझाउन हचुवाको भरमा जग्गा बाँडियो,’ नगर विकास समितिका एक कर्मचारीले भने, ‘अहिले प्रदेशको राजधानी बन्यो, वीरेन्द्रनगरमा राजधानीका लागि चाहिने जग्गा अपुग भयो ।’ समितिले नेपाली कांग्रेस, तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र संघीय समाजवादी फोरमलाई जग्गा उपलब्ध गराएको थियो । पार्टी कार्यालयलाई मात्र नभई एफएम रेडियोलाई समेत जग्गा दिइएको छ । समितिले भने विगतमा बाँडिएको जग्गा आवश्यकता अनुसार फिर्ता लिन सकिने बताएको छ । जग्गा वितरण गरिएको भए पनि पूर्जा आफूहरूसँगै रहेको भन्दै समितिले आवश्यकता पर्दा जग्गा फिर्ता लिन सकिने बताएको हो । नगर विकास समितिका अध्यक्ष नारायणकुमार कोइरालाले अब सहमतिका आधारमा जग्गाको व्यवस्थापन गर्नुपर्ने बताए । ‘पहिलेका पदाधिकारीले बाँडेका रहेछन्, गुरुयोजना विपरीत पनि जग्गा बाँडिएको देखिन्छ,’ उनले भने, ‘यो विषयमा पहिलादेखि विवाद रहेको छ, हामीले चाहेर मात्रै हटाउन सक्ने अवस्था छैन । दलहरूबीच साझा सहमति आवश्यक छ, सहमति भएमा जग्गा फिर्ता ल्याउन सम्भव पनि छ ।’ उनका अनुसार विगत ८÷१० वर्ष पहिलेदेखि नै जग्गाको विषय विवादित बन्दै आएको छ । हचुवाको भरमा बाँडिएको नगर विकास समितिको जग्गा फिर्ता ल्याएर गुरुयोजना अनुसार वीरेन्द्रनगरको विकासमा लाग्नुपर्ने स्थानीयको सुझाव रहेको छ । यसका लागि नगरपालिकाका जनप्रतिनिधिले समेत तत्काल ध्यान दिनुपर्ने सर्वसाधारणको माग छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)