रुकुम । भारतको जम्मु कश्मीरमा फल्ने दाँते ओखर अब रुकुमको पूर्वी क्षेत्रमा फलाइने भएको छ । नेपालमै पहिलो पटक ओखर जोन घोषणा गरिएको जिल्लामा ओखर लगाउन भारतको जम्मु कश्मीरबाट बेर्ना ल्याइएको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत रुकुमपूर्वका लागि पहिलोपटक १३ लाख ६० हजार रुपैयाँका ओखरका बेर्ना ल्याइएको छ । जम्मु कश्मीरबाट टिस्युकल्चर प्रविधिबाट उत्पादित ‘कश्मिरी थिनसेल टुसा’ जातका ८ हजार बेर्ना ल्याएर किसानलाई वितरण गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना ओखर जोन कार्यक्रमका कार्यालय प्रमुख भीष्मराज रेग्मीले बताए ।
किसानले नेपालमा उत्पादन भएका बिरुवा यसअघि पनि पटक–पटक लगाएको तर उत्पादन राम्रो नभएको भन्दै भारतबाट बिरुवा ल्याउन माग गरेका थिए । उक्त बेर्ना प्रतिगोटा १७० रुपैयाँका दरले खरीद गरिएको प्रमुख रेग्मीले बताए । ओखरका बेर्ना लगाउने किसानले ५० प्रतिशत लगानी गर्नेछन् भने परियोजनाले ५० प्रतिशत अनुदान दिनेछ ।
रुकुमपूर्वका ३ ओटै स्थानीय तहमा ओखर जोन कार्यक्रम लागू गरिएको छ । ओखरका बेर्ना लगाउनलाई जिल्लाका ३ स्थानीय तहमध्ये सबैभन्दा बढी पुथा उत्तरगंगा गाउँपालिकामा ४०, सिस्ने गाउँपालिकामा २० र भूमे गाउँपालिकामा १५ हेक्टर क्षेत्रफल जमीन छनोट गरिएको छ ।
माटो तथा मल परीक्षण प्रयोगशाला खजुरा बाँकेका विज्ञ खिमबहादुर केसी नेतृत्वको टोलीले जिल्लामा ओखर जोन लागू भएका क्षेत्रको माटो परीक्षण गरेर माटो सुहाउँदो ओखरका बेर्ना खरीद गरिएको बताइएको छ । माटोमा पाइने खाद्यपदार्थ केही कम पाइएकाले किसानलाई आवश्यक सुझावसहित ओखरका बेर्ना वितरण गरिएको ओखर जोन परियोजना सञ्चालक समितिले बताएको छ ।
परियोजनाले किसानलाई आवश्यक तालीम, साना सिँचाइ निर्माण र काँटछाँट गर्ने औजार वितरण पनि अनुदानमा दिने भएको छ । दाँते ओखरको उत्पादन बढाउन तथा बजारीकरणमा आयोजनाले ओखर खेती गर्न चाहने किसानका लागि कृषि औजारमा ५० देखि ८५ प्रतिशतसम्म अनुदान दिने बताएको छ ।