पाँच ओटा वाणिज्य बैंकको वार्षिक साधारणसभा गर्न बाँकी
Feb 26, 2019
 
लगानी
काठमाडौं । चालू आर्थिक वर्ष २०७५/७६ को आठ महीना पूरा हुन लाग्दासमेत पाँचओटा वाणिज्य बैंकले हालसम्म साधारणसभा बोलाएका छैनन् । एनसीसी, कुमारी, सेञ्चुरी, सिभिल र प्राइम कमर्शियल बैंकले हालसम्म साधारणसभा गर्न नसकेका हुन् । तीमध्ये कुमारी, सिभिल र प्राइमले भने लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गरेका छन् ।
कुमारी बैंकले दुई ओटा आर्थिक वर्षको साधारणसभा गर्न बाँकी छ । बैंकले दुवै आवको लाभांश प्रस्ताव गरे पनि साधारण सभाको मिति तय गर्न सकेको छैन । बैंकले अब संयुक्त साधारणसभा गर्नुपर्ने छ । सिभिल बैंकले पनि दुई आर्थिक वर्षको साधारणसभा गर्न बाँकी छ । कम्पनीले दुवै आर्थिक वर्षको प्रस्तावित लाभांशसहित वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पठाएको छ । राष्ट्र बैंकको स्वीकृतिपछि साधारणसभा बोलाउने जानकारी उक्त बैंकले दिएको छ । आगामी चैतसम्म साधारणसभा सम्पन्न गर्ने योजना बैंकको छ ।
१६ प्रतिशत बोनस शेयर प्रस्ताव गरेको प्राइम कमर्शियल बैंकले पनि साधारणसभाको सूचना भने हालसम्म दिएको छैन । भदौ ४ मा बैंकले ओम डेभलपमेन्टलाई प्राप्तिका लागि राष्ट्र बैंकसमक्ष दुवैले सैद्धान्तिक सहमतिका लागि संयुक्त निवेदन दिएका थिए । राष्ट्र बैंकले ८ बुँदे शर्त राखी आवश्यक प्रक्रिया अगाडि बढाउन सैद्धान्तिक सहमति दिएको छ । दुवै बैंकले आ–आफ्नो वित्तीय विवरण राष्ट्र बैंकमा पठाएका छन् ।
प्राइम बैंकका डेपुटी जनरल म्यानेजर भाइराजा तुलाधरका अनुसार ओम डेभलपमेन्ट बैंकर प्राइम कमर्शियल बैंकले एकैसाथ साधारणसभा गर्नुपर्ने भएकाले ढिलाइ भएको हो । प्राप्तिका लागि राष्ट्र बैंकबाट स्वीकृति नपाएकाले साधारणसभा गर्न ढिलाइ भएको ओम डेभलपमेन्ट बैंकका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले बताए ।
नबिल र प्रभु बैंकले पनि पुस मसान्तमा साधारणसभा गरेनन् । नबिल बैंकले १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश पारित गर्न फागुन २७ मा साधारणसभा गर्न लागेको छ । प्रभु बैंकले ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश पारित गर्न फागुन १७ मा साधारणसभा बोलाएको छ । कृषि विकास बैंकले ६ प्रतिशत बोनस शेयर र १५ दशमलव शून्य ५३ प्रतिशत नगद लाभांश पारित गर्न चैत १५ मा साधारणसभा गर्न लागेको छ ।
कम्पनी ऐनमा भएको व्यवस्थाअनुसार चालू आर्थिक वर्षको ६ महीना अर्थात् पुुस मसान्तभित्र वार्षिक साधारणसभा गरिसक्नुपर्ने व्यवस्था छ । ऐनको थप व्यवस्थाअनुसार कम्पनीहरूले चैत मसान्तसम्म पनि साधारणसभा नगरे कम्पनी रजिष्ट्रार कार्यालयले आफै त्यसका लागि निर्देशन दिन सक्छ । पुस मसान्तभित्र साधारणसभा सम्पन्न गर्न नसक्ने कम्पनीहरूले त्यसको कारण खुलाउनुपर्ने व्यवस्था पनि छ ।