फागुन १४, रुकुम । चौरजहारीमा बहुप्राविधिक शिक्षालय स्थापना भई सञ्चालनमा आएको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१, नाखिरामा शहीद यज्ञश्वर शर्मा बहुप्राविधिक शिक्षालय सञ्चालन गरिएको हो ।
मन्त्रिपरिषद् निर्णय अनुसार चौरजहारीमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) मातहतको बहुप्राविधिक शिक्षालय स्थापना गरी रुकुम (पश्चिम) जिल्लाका साथै सल्यान, सुर्खेत, जाजरकोट, डोल्पा लगायतका जिल्लाहरुलाई लक्षित गरी सञ्चालनमा ल्याइएको सीटीईभीटी कर्णाली प्रदेशका कायम मुकायम निर्देशक भीमकान्त लामिछानेले बताए । व्यावसायिक सीप विकास र प्राविधिक शिक्षा अध्ययनका लागि शिक्षालय स्थापना गरिएको बताउँदै निर्देशक लामिछानेले अबको १ महीनाभित्र छोटो अवधिका तालिम शुरु हुने र अर्को शैक्षिक सत्रदेखि डिप्लोमा तहका कार्यक्रम सञ्चालनको तयारी भइरहेको जानकारी दिए । उनले भने, ‘३ महीनाका व्यावसायिक तालिम र तीन वर्षे डिप्लोमा तहका कार्यक्रम पनि चौरजहारीमै सञ्चालन गरिनेछ ।’
छोटो अवधिका तालिमतर्फ सेवा, निर्माण, कृषि क्षेत्रका तालिम सञ्चालनका साथ सेवातर्फ होटेल व्यवस्थापन, कुकिङलगायत तालिम सञ्चालन हुने जनाएको छ । निर्माणतर्फ मोटरसाइकल मर्मत, मोबाइल तथा कम्प्युटर मर्मतलगायत तालिम दिइनेछ । त्यस्तै कृषितर्फ च्याउ खेती, पशुपालन, बेमौसमी तरकारी खेतीका तालिम सञ्चालन हुने छन् । तालिम लिएर रोजगार तथा स्वरोजगार बन्न चाहनेले निःशुल्क तालिम लिन पाउनेछन् भने सहभागीहरुलाई खाजा खर्च बापत दैनिक ४० रुपैयाँ उपलब्ध गराईने कामु निर्देशक लामिछानेले बताए । शिक्षालयले कृषि तथा वन सेवातर्फ ३ वर्षे पठनपाठन सञ्चालन गर्नेछ ।
हाल भाडाको भवनमा रहेको शिक्षालयले आफ्नै भवन निर्माण गर्ने पनि बताएको छ । जसका लागि नगरपालिकाको समन्वयमा नाखिरामै भवन निर्माणको पहल थालिएको छ । भवन निर्माणका लागि २० लाख रुपैयाँ विनियोजन गरिएको सीटीईभीटीले बताएको छ । गाउँमै सस्तो र सुलभ शुल्कमा डिप्लोमा तहको कृषि र वनको अध्ययन गर्ने अवसर प्राप्त भएपछि पश्चिम रुकुमका स्थानीय खुसी भएका छन् ।