रुकुम । जिल्ला समन्वय समिति (जिसस) रुकुम पश्चिमले मदिरा विक्रीमा रोक लगाएको छ । समितिले बिहीवारदेखि जिल्लाका ७३ ओटै वडामा मदिरा उत्पादन, विक्री र सेवनमा रोक लगाएको हो । गत माघ ५ गते समितिले जिल्लामा मदिरा विक्री रोक्ने निर्णय गरेको थियो ।
सबै स्थानीय तह तथा सरोकारवालाको बैठकले मदिराले विकृति विसंगति बढाएको भन्दै अर्को निर्णय नभएसम्मका लागि मदिरा विक्रीमा रोक लगाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार घरेलु तथा अन्य कुनै पनि मदिरा विक्री गर्न पाइने छैन । मदिरा व्यवस्थापन गर्ने अभियान अन्तर्गत माघ ६ गतेदेखि नै जिल्लामा मदिरा आयातमा कडाइ गरिएको थियो ।
आपराधिक घटना बढाएकाले मदिरा विक्री रोकेको जिसस रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले बताए । स्थानीय सरकारले गत माघ ६ गतेयता जिल्लाभित्र मौज्दात मदिरा विक्री गर्न डेढ महीनाको समय दिएको थियो । तर, मौज्दात मदिरा विक्री नभइसकेको भन्दै व्यापारीले असन्तुष्टि व्यक्त गरेका छन् ।
व्यापारी अदालतमा
मदिरा व्यवसायी संघका अध्यक्ष नवीनकुमार खड्काले राज्यलाई कर तिरेकोले मदिरा विक्री नरोक्ने बताए । उनले भने, ‘न्यायको लागि उच्च अदालत सुर्खेतमा मुद्दा दायर गरेका छौं ।’
स्थानीय सरकारलाई विपक्षी बनाउँदै मदिरा व्यवसायी पवन खड्काले मुद्दा दायर गरेको संघले जानकारी दिएको छ । उच्च अदालत सुर्खेतले स्थानीय सरकारलाई कारण देखाउन आदेश जारी गदै बिहीवार नै उच्च अदालत सुर्खेतमा व्यापारी र स्थानीय सरकारका प्रतिनिधिलाई बहसको लागि बोलाएको थियो । तर, सार्वजनिक विदाका कारण आज (शुक्रवार) बहस हुने भएको छ ।
सबै मदिरा पसल बन्द
जिससको निर्णयले जिल्लामा सबै मदिरा पसल बन्द भएका छन् । रुकुम पश्चिममा कोष तथा लेखा नियन्त्रण कार्यालयबाट अनुमति पत्र लिएका ५३१ ओटा मदिरा पसल छन् । जिल्लामा यो व्यवसायमा झण्डै १ अर्ब लगानी गरिएको र वार्षिक ५० करोड रुपैयाँ राजस्व तिर्ने गरिएको व्यवसायीको दाबी छ ।