ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

स्थानीय तहमा भू–उपयोग नीति : जमीन भाडामा लिएर खेती गर्ने योजना

Mar 1, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी
पर्वत । जिल्लाको महाशिला गाउँपालिकाले व्यक्तिको बाँझो रहेको जग्गा भाडामा लिएर खेती गर्ने निर्णय गरेको छ । पाँचौं गाउँसभाले उक्त निर्णय गरेको हो । गाउँपालिकाले श्रम गर्नेसँग जमीन नभएको र बजार झरेर बस्नेसँग प्रशस्त जमीन भएर पनि उपयोग नभएपछि व्यक्तिको जग्गा भाडामा लिएर खेती गर्ने योजना बनाएको हो । कृषि पेशामा लाग्न चाहेका तर जमीन नभएकालाई भाडामा लिएको जमीन खेतीपाती गर्न उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष राजप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार महाशिलाले बाँझो जमीनको लगत संकलन थालेको छ । नापजाँच गर्ने र भाडामा लिँदा र दिँदा के–के शर्त पालना गर्ने/गराउने भनेर मोडालिटी तयार पर्ने पौडेलले बताए । सकेसम्म निःशुल्क लिने र जग्गाको अवस्था हेरेर वार्षिक रूपमा भाडामा लिने योजना बनाइएको उनले जानकारी दिए । उनका अनुसार व्यापारिक प्रतिष्ठान, सहकारी र स्थानीय कृषकका समूहलाई समेत जग्गा भाडामा दिने तयारी छ । गाउँसभाले नीतिगत रूपमा सर्वसम्मत पारित गरेको यो योजना कार्यान्वयनमा ल्याउन अझै पाँच महीना पर्खिनुपर्ने गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीले जानकारी दिए । उनले गाउँपालिकाले विज्ञ समेतको सहभागितामा मोडालिटी बनाउने भएकाले नीति कार्यान्वयनमा समय लाग्ने बताए । गाउँपालिकाले भाडामा लिएको जग्गामा तरकारीखेती, सुन्तला, मकै, गहुँ तथा धानबाली लगाउने योजना तय गरे पनि सम्भावना हेरेर अन्य खेती पनि गर्ने बताएको छ । ६ वटा वडा रहेको महाशिलामा अधिकांश वडामा उल्लेख्य जमीन बाँझो छ । जमीन बाँझो रहनुमा सिँचाइको असुविधा, बाँदर आतंक, जनशक्ति पलायन लगायत कारण हुन् । गाउँपालिकाले सिँचाइका लागि कालीगण्डकीको पानी तान्ने योजना अगाडि सारेको छ । बाँदरकै कारण किसान समस्या परेपछि गत वर्षदेखि बाँदर समात्ने कार्यक्रम सञ्चालन भइरहेको छ । अहिलेसम्म तीन सय बाँदर समातेर स्थानान्तरण भइसकेको गाउँपालिकाका प्रशासकीय अधिकृत किसानबहादुर क्षत्रीले जानकारी दिए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)