फागुन १७, सुर्खेत । दैलेखबाट उपचारका लागि प्रदेश अस्पताल सुर्खेत आएकी लक्ष्मी शाहीले दुई दिनदेखि डाक्टरको पर्खाइमै पीडा सहिरहेकी छिन् । पाठेघर सम्बन्धी गम्भीर समस्या भोगिरहेकी शाही ढाड दुख्ने, पाठेघरबाट गन्हाउने पानी र रगत बग्ने समस्या भोग्दै आइरहेकी छन् । उनले भनिन्, ‘गाउँमा मात्रै उपचार गाह्रो होला भनेको यता पनि यस्तै रैछ, सुर्खेतमा बस्ने ठाउँ पनि छैन ।’ पाँच घण्टासम्म प्रतिक्षा गर्दा कुनै चिकित्सक नआएपछि उपचार नगरी उनी अस्पतालबाट बाहिरिन् ।
त्यस्तै छोराको उपचारका लागि कालिकोटबाट सुर्खेत आएकी देउडा गायिका कमला धामीले डाक्टरहरु हडतालमा गएपछि स्वास्थ्य सेवा नपाएर बहुत सास्ती खेप्नु परेको दुःखेसो पोखिन् । बिरामीहरुले इमेरजेन्सी वार्डमा चेकजाँच गराएका छन् भने कतिपयले महंगो शुल्क तिरेर निजी अस्पताल तथा मेडिकलमा उपचार गराएका छन् । गाउँबाट उपचारको लागि अस्पतालमा पुगेका खगेन्द्र रिजाल डाक्टरको अनिश्चितकालिन हडतालबाट समयसँगै पैसाको बर्बादी हुँदा खान बस्न समेत कठिनाई भईरहेको बताउँछन् ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित प्रदेश अस्पतालका चिकित्सक हड्तालमा गएपछि दुई दिनदेखि बिरामी बिचल्लीमा परेका छन् । सरकारको कर्मचारी समायोजन विधेयकप्रति असन्तुष्टि जनाउँदै आएका सरकारी चिकित्सकले सेवा नदिएपछि कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट उपचारका लागि प्रदेश अस्पताल सुर्खेत आएका बिरामी बिचल्लीमा परेका हुन् ।
चिकित्सकले अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेका छन् । सरकारले आफ्ना जायज मागहरु नसुनेको भन्दै बुधवारदेखि प्रदेश अस्पताल सुर्खेतका डाक्टरहरु चरणवद्ध आन्दोलनमा उत्रिएका छन् ।
गाउँबाट उपचारको लागि अस्पतालमा पुगेका बिरामीहरुले आकस्मिक बाहेकका सेवा नपाएको गुनासो गरेका छन् । ‘आइतवारदेखि छोरीको विद्यालय भएकाले बिदाको मौका छोपेर उपचार गराउन आएँ, तर यता त बन्द रहेछ,’ वीरेन्द्रनगर–१५, की शारदा पोखरेलले बताइन् । त्यस्तै वीरेन्द्रनगर ११, निवासी हरिप्रसाद ढकालले भने, ‘हामी त गाँउघरका मान्छे घरमा थुप्रै काम हुन्छ, गाईभैंसी पालेका छौँ फुर्सद नै हुन्न ।’
अस्पतालमा ओपीडी सेवा बन्द भएपछि बिरामीहरुले महंगो शुल्क तिरेर इमर्जेन्सी वार्डमा उपचार गराउनुपर्ने बाध्यता रहेको छ । इमेरजेन्सी वार्डमा भीड नै लागेको छ । इमर्जेन्सी वार्डमा पालो पर्खिरहेकी शान्तीदेवी सावदले प्रश्न गरिन्, ‘डाक्टरको आन्दोलनले हामी गरिबलाई दुःख किन ?’ नेपालको संविधान २०७२ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने र प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवामा समान पहुँचको हक निर्धारण गरेको भएपनि सुर्खेतका बिरामीले सास्ती भोग्नु परेको छ । सरकारले चिकीत्सकहरुको मागलाई छिटो सम्बोधन नगर्ने हो भने बिरामीहरुले अझैं सास्ती पाउने छन् । बिरामीहरु उपचारबिनै फर्किन बाध्य भएका छन् ।
यता, आन्दोलनरत चिकित्सकहरु भने आफूहरुको समस्याप्रति राज्य जवाफदेही बन्न नसक्दा बाध्य भएर आन्दोलन गर्नु परेको बताउँछन् । सरकारले माग पूरा गर्ने सहमति गरे पनि कार्यान्वयन नगरेको चिकित्सकको भनाइ छ । चिकित्कहरुको समायोजनको कुरा नमिलेकाले चिकीत्सक संघ (गोदान)को आह्वानमा आकस्मिकबाहेक सबै सेवा अनिश्चितकालिन बन्द गरिएको प्रदेश अस्पताल सुर्खेतका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. डम्मर खड्काले बताए ।