फागुन १८, पर्वत । पर्वतमा यो वर्ष ६० टन लप्सी प्रशोधन भएको छ । फलेवास नगरपालिका–४, मुडिकुवामा सञ्चालित सामूदायिक खाद्य प्रशोधन उद्योगले ६० टन लप्सी प्रशोधन गरेको हो । उद्योगले लप्सीका विभिन्न परिकार बनाएर बजार पठाएको छ । गतवर्ष ४० टन लप्सी प्रशोधन गरेको उद्योगले यो वर्ष २० टन बढी लप्सीका परिकार बनाएको जानकारी दिएको छ ।
उद्योगका सञ्चालक थानेश्वर भुसालले १३० टन लप्सी आफूले खरीद गरेको जानकारी दिए । ‘६० टन लप्सीका परिकार बनाईयो भुसालले भने,’ अझै ७० टन भण्डारण गरेर राखेका छौं । बनाएका परिकार बजार पठाईरहेका छौं ।’
पर्वत र बागलुङ जिल्लाबाट उद्योगले लप्सी संकलन गर्दै आएको छ । नेपालका विभिन्न शहर र विदेशसम्म पनि पर्वतको लप्सीका परिकार निर्यात हुने गरेको छ । भुसालका अनुसार यो वर्ष अमेरिकामा १० टन लप्सीका परिकार पठाइएको छ । ‘पोहोर पनि १० टन नै अमेरिका पठाईएको थियो,’ उनले भने,‘ कोरियाबाट माग आएको छ, पठाईएको छैन ।’ भुसालले लप्सीका परिकार बेचेर यो वर्ष २० लाख रुपैयाँभन्दा बढी आम्दानी हुने अनुमान गरेका छन् ।
खाद्य प्रशोधन उद्योगमा लप्सीबाट माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्याण्डी लगायतका परिकार बन्दै आएका छन् । उद्योगले कृषकहरुबाट प्रतिकिलो २५ रुपैयाँमा लप्सी खरीद गर्दै आएको छ । ढुवानी खर्च उद्योगले आफैं व्यहोर्ने गर्छ । कृषकहरु हातहातै मूल्य पाएपछि हौसिएका छन् ।
२०५८ सालमा स्थापना भएको उद्योगमा वर्षेनी नाफा बढ्दै गएको छ । उद्योग स्थापना भएपछि कृषकहरुले पाखोबारीमा लप्सीका बोट लगाउने लहर चलेको छ । पर्वत जिल्ला नेपालमै सबैभन्दा बढी लप्सी उत्पादन हुने जिल्ला हो । एक गाउँ एक उत्पादन कार्यक्रम सञ्चालनमा आएपछि र लप्सीको उपयोग हुन थालेपछि गाउँमा लप्सीको उत्पादन क्षेत्र बढेको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख बासुदेव रेग्मीले बताए । जिल्लाका साविक ३५ गाविसमा लप्सीे उत्पादन हुँदै आएको उनले बताए । ‘वनजंगलमा थुप्रै लप्सी कुहिएर जाने गरेको थियो,’ रेग्मीले भने,‘ यसको महत्व बुझेपछि अहिले आम्दानीको स्रोत बनेको छ ।’
कुनै बेला जंगलमा त्यसै झरेर कुहिने लप्सी पछिल्लो समय प्रशोधन गर्न थालेपछि आम्दानीको राम्रो स्रोत बन्न थालेको छ । लप्सी प्रशोधनमा डिभिजन वन कार्यालय, कृषि ज्ञान केन्द्र, फलेवास नगरपालिका, घरेलु तथा साना उद्योग विकास समिति र उद्योग वाणिज्य संघले सहयोग गर्दै आइरहेका छन् ।
खाद्य प्रशोधन उद्योगमा ७ जनाले प्रत्यक्ष रोजगारी पनि पाएका छन् । उक्त उद्योगमा अदुवा, मोरिंगा, अलैंची, अमला, बेसार प्रशोधन हुँदै आएको छ । यो वर्षदेखि मकैको सातु बनाउन थालिएको छ । मकै जोन फलेवासमा सञ्चालन भएपछि उद्योगमा मकैको सातु बनाउन थालिएको हो । सातु बनाएर प्याकिङ गरी बजारमा पठाउन थालिएको उद्योग सञ्चालक भुसालले जानकारी दिए ।