सुर्खेत । सुर्खेतस्थित प्रदेश अस्पतालका चिकित्सकको हडतालले बिरामी बिचल्लीमा परेका छन् । कर्मचारी समायोजन विधेयकप्रति असन्तुष्टि व्यक्त गर्दै चिकित्सकले हडताल गरेका हुन् । चिकित्सकले अस्पतालमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बहिष्कार गरेका छन् ।
सरकारले आफ्ना जायज मागहरू नसुनेको उनीहरूको आरोप छ । बुधबारदेखि उनीहरू अनिश्चितकालीन आन्दोलनमा उत्रिएका हुन् । दैलेखबाट उपचारका लागि आएकी लक्ष्मी शाहीले दुई दिनदेखि उपचार नपाएको बताइन् । ‘गाउँमा मात्रै उपचार गाह्रो होला भनेको यता पनि यस्तै रैछ, सुर्खेतमा बस्ने ठाउँ पनि छैन,’ उनले भनिन् ।
अस्पतालमा ओपीडी सेवा बन्द भएपछि बिरामीले महँगो शुल्क तिरेर इमरजेन्सी वार्डमा उपचार गराउनुपर्दा भीड बढेको छ । कतिपय बिरामी महँगो शुल्क तिरेर उपचारका लागि निजी अस्पताल पुगेका छन् ।
चिकित्कहरूको समायोजको कुरा नमिलेकाले चिकित्सक संघ (गोदान) को आह्वानमा आकस्मिकबाहेक सबै सेवा अनिश्चितकालीन बन्द गरिएको प्रदेश अस्पताल सुर्खेतका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.डम्मर खड्काले बताए ।