ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

५ दिनमा २ करोड सिध्याउन अन्तरप्रदेश खेलकुद प्रतियोगिता गरिंदै

Mar 3, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वीरेन्द्र भट्ट

फागुन १९, धनगढी । सुदूरपश्चिम प्रदेशमा आयोजना हुन लागेको प्रथम मुख्यमन्त्री कप अन्तरप्रदेश खेलकुद प्रतियोगिता बजेट सिध्याउने र पार्टी कार्यकर्ता खुशी पार्ने अभिप्राय देखिएको स्थानीयले बताएका छन् । धनगढीमा फागुन २९ देखि चैत ३ गतेसम्म पाँच दिन सञ्चालन हुने प्रतियोगिताका लागि करीब एक दर्जनको हाराहारीमा समिति तथा उपसमितिहरु गठन गरिएका छन् ।

हतारमा गठन गरिएका समिति तथा उपसमिति छनौटमा मन्त्रीका छोरादेखि आफू निकटका कार्यकर्ता मात्रै राखिएको भन्दै स्थानीयले विरोध जनाएका छन् । एउटा समितिको उपसंयोजकमा मन्त्रीका छोरा भिष्मराज सुवेदीलाई राखिएको छ । स्पष्ट मापदण्ड र कार्यविधि तयार नगरी हतारमा प्रतियोगिता सञ्चालन गर्दा खेलाडी छनोटका क्रममा विवाद आउन सक्ने जिल्ला खेलकुद समिति कैलालीका अध्यक्ष दिपकबहादुर सिंहले बताए । आर्थिक पारदर्शितामा समेत विवाद आउन सक्ने भएकाले स्पष्ट मापदण्ड बनाएर मात्रै मन्त्रालयले यस प्रकारका खेलकुद प्रतियोगिता आयोजना गर्नुपर्ने अध्यक्ष सिंहको भनाइ छ ।

सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयको आयोजनामा हुने उक्त प्रतियोगिताको सम्बन्धमा जानकारी दिन आइतवार पत्रकार सम्मेलन आयोजना गरिएको थियो । पत्रकार सम्मेलनमा सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले प्रतियोगिताका लागि मन्त्रालयले निर्देशिका र कार्यविधि बनाइरहेको बताए । सात ओटै प्रदेशका खेलाडीहरुको सहभागिता रहने गरी आयोजना हुन लागेको प्रतियोगितामा रू. २ करोड खर्च हुने मन्त्रालयले बताएको छ ।

रू. १ करोड ५० लाख यसअघि नै विनियोजन भइसकेको छ भने रू. ५० लाख बजेट निकासाको तयारी भइरहेको मन्त्रालयका सचिव गोगनबहादुर हमालले जानकारी दिए । फूटबल र क्रिकेटका खेलहरु लिगकम नकआउन प्रणालीबाट सञ्चालन गरिने मन्त्रालयले बताएको छ । हरेक प्रदेशबाट ९२ जना खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी कुल ६४४ जना सहभागी हुने र त्यसका लागि मन्त्रालयले आवश्यक व्यवस्था मिलाएको सचिव हमालले बताए । सर्वाधिक स्वर्ण पदकका साथ प्रथम हुने प्रदेशलाई १५ लाख, द्वितिय प्रदेशलाई ८ लाख तथा तृतीय हुने प्रदेशलाई ५ लाख रुपैयाँ नगद पुरुस्कार प्रदान गरिने छ ।

पाँच दिनमा २ करोड रुपैयाँ सिध्याउने गरी आयोजना गरिन लागेको प्रतियोगिता कार्यकर्ता खुशीपार्ने खेल मात्रै भएको प्रतिक्रिया प्रदेशवासीको छ । खेलाडी छनौटमा राजनीतिक भागबण्डा हुने आंशका खेल क्षेत्रका अगुवाहरुको छ । मन्त्रालयका सचिव हमालले पनि हतारमा प्रतियोगिता आयोजना गर्न लागिएको स्वीकार गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)