रौतहट । रौतहटको ग्रामीण भेगमा लघुवित्तको सहयोगबाट महिला मात्र नभई पुरुषले समेत रोजगारी पाएका छन् । गाउँगाउँमा पुगेका लघुवित्तले महिला समूहमा विनाधितो ऋण उपलब्ध गराएपछि पुरुषले समेत रोजगारी पाएका हुन् । लघुवित संस्थाबाट ऋण लिएका महिलाले विभिन्न व्यवसाय गरी आर्थिक अवस्थामा सुधार हुँदै गएपछि श्रीमान्समेत काममा व्यस्त हुन थालेका छन् ।
गुजरा नगरपालिका अन्तर्गत अम्तावा गाउँमा बस्ने ५० वर्षीया तुलसीदेवी साहका श्रीमान्ले अहिले मासुपसल सञ्चालन गरेका छन् । २०७४ माघ २६ गते लघुवित्त संस्थाको समूहमा प्रवेश गरेको बताउँदै पहिलो पटक सबैको लघुवित्त वित्तीय संस्था सन्तपुर शाखाबाट ऋण लिएको उनले बताइन् । चियापसलका लागि ८० हजार ऋण लिएको बताउँदै उक्त आम्दानीबाट अहिले किराना पसल थपेको उनको भनाइ छ । अहिले मासिक ४० हजारसम्म आम्दानी हुन्छ । लघुवित्तको सहयोगमा चिया पसलबाट शुरू भएको व्यवसाय किराना पसल हुँदै मासुपसल गरेकाले परिवारका सदस्यले रोजगारी पाएको उनको भनाइ छ । आर्थिक अवस्था कमजोर हुँदा घरमा दिनहुँ कलह हुने गरेको स्मरण गर्दै लघुवित्तले जीवनमा परिवर्तन ल्याइएको उनको कथन छ ।
गाउँघरमा लघुवित्त संस्थाले महिलालाई आत्मनिर्भर बनाउनुका साथै अधिकांशका श्रीमान्लाई समेत रोजगारी दिएको छ । तालीम वा शीप सिकेका महिला आर्थिक अभावले व्यवसाय गर्न नपाएकालाई लघुवित्त संस्थाले गर्दा सहयोग पुगेको छ । गाउँका महिलालाई आत्मनिर्भर र जीविकोपार्जन गर्न लघुवित्त संस्थाको भूमिका रहेको सबैको लघुवित्त वित्तीय संस्था सन्तपुर शाखाका प्रमुख विवेककुमार साहले बताए । अधिकांश महिलाले तरकारीखेती, पसल वा अन्य व्यवसाय गर्न ऋण लिने गरेको उनले बताए । विपन्न समुदायको पहुँचमा लघुबित संस्था रहेको उल्लेख गर्दै उनीहरूको आर्थिक अवस्था सुधार ल्याउन विनाधितो ऋण दिने गरेको बताए ।