स्वास्थ्य बीमा कार्यक्रम : कर्णालीमा १ लाख नागरिक बीमित
Mar 6, 2019
 
प्रदेश समाचार
सुर्खेत । सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत कर्णाली प्रदेशका पाँच जिल्लाका १ लाख ३९ हजार ५ सय २० जनाले स्वास्थ्य बीमा गरेका छन् । कर्णालीमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको १९ महीना पुगेको छ ।
देशमा आर्थिक वर्ष २०७२/७३ देखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको थियो । तर, कर्णालीमा भने २०७४ असार १ गते जुम्लाबाट स्वास्थ्य बीमा कार्यक्रम शुरू गरिएको हो । कर्णालीका जुम्ला, जाजरकोट, सुर्खेत, रुकुम पश्चिम र कालीकोटमा कार्यक्रम लागू गरिएको छ । हालसम्म ३५ हजार ५१९ जनाले सेवा लिएको स्वास्थ्य बीमा बोर्ड कर्णालीका संयोजक अर्जुन पण्डितले जानकारी दिए ।
बीमित नागरिकलाई सेवा दिएबापत सेवा प्रदायकलाई ४ करोड ४० लाख रुपैयाँ भुक्तानी गरेको उनले बताए । पाँच जिल्लाका विभिन्न स्थानका २० स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा गरेका नागरिकलाई सेवा प्रदान गर्दै आएका छन् । पण्डितका अनुसार बीमित नागरिकमध्ये अति गरीब वर्गका २५ हजार ५५४ जना छन् । ‘चालू आर्थिक वर्षमै हुम्ला, डोल्पा, मुगु र दैलेखमा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारीमा छौं,’ पण्डितले भने ।
कार्यक्रम लागू भएका जिल्लामा स्वास्थ्य सेवा प्रदायक संस्थाको कमीका कारण विशेषज्ञ सेवा दिन कठिनाइ भएको उनको भनाइ छ । स्वास्थ्य बीमाको प्रचारप्रसारको अभावले कैयौं नागरिक कार्यक्रमबारे बेखबर रहेको सरोकारवाला बताउँछन् । स्वास्थ्य बीमा कार्यक्रम विपन्न वर्गका लागि उपयोगी भएकाले यसलाई प्रभावकारी बनाउन आवश्यक देखिएको कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले बताए । उनले स्वास्थ्य कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेश सरकार गम्भीर भएर लाग्ने जानकारी दिए ।