सुर्खेत । ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’को उद्घाटन कार्यक्रममै अनियमितता भएको पाइएको छ । सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले गरेको छानबिनका क्रममा अनियमितता भएको पाइएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारातालबाट उद्घाटन गरेको उक्त महोत्सवमा ३७ लाखभन्दा बढी भ्रष्टाचार गरेको पाइएको छ । सार्वजनिक लेखा समितिले ५ महीना लगाएर गरेको छानबिनले यस्तो निष्कर्ष निकालेको हो । समितिले अनियमितता र भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्न निर्देशन दिँदै मुख्यमन्त्रीलाई आइतवार प्रतिवेदन बुझाएको छ ।
महालेखा परीक्षकको प्रतिवेदनमा कर्णाली–रारा पर्यटन वर्ष उद्घाटनमा क्रममा प्रदेश सरकारले ८७ लाख १८ हजार ९७३ रुपैयाँ ७९ पैसा खर्च भएको देखाएको छ । प्रदेश सरकारले जेठ २५ गते संसदमा ४९ लाख ४१ हजार ७९५ रुपैयाँ खर्च भएको विवरण पेश गरेको थियो । त्यसयता सार्वजनिक लेखा समिति, उद्घाटन कार्यक्रमको छानबिनका लागि गठित उपसमितिलाई सरकारले बुझाएको विवरणमा पनि फरक–फरक तथ्यांक प्रस्तुत गरिएका थिए । ‘संसद्मा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रस्तुत गरेको खर्च विवरणलाई आधार मानेर उक्त रकमको भ्रष्टाचार भएको निष्कर्ष निकालेका हौं, आइतवार पत्रकार सम्मेलन गरेर समितिका अध्यक्ष दीनबन्धु श्रेष्ठले भने ।
कर्णाली–रारा पर्यटन वर्षको उद्घाटनका लागि २०७४ चैत २८ गतेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालय तथा निकायलाई ४६ लाखको अख्तियारी दिएको थियो । समितिले सार्वजनिक खरीद ऐन र वित्तीय अनुशासन पालना नगरेकाले खर्च भएको सबै रकम ‘अनियमितता’ भनेको छ ।
कुन मन्त्रालयको खर्च कति ?
प्रदेशका मन्त्रालयले विनियोजित बजेटभन्दा बढी खर्च गरेको देखिएको छ । भूमि व्यवस्था तथा कृषि तथा सहकारी मन्त्रालयले १० लाख विनियोजित गरेकोमा २८ लाख ६५ हजार ८१० रुपैयाँ खर्च गरेको छ भने सामाजिक विकास मन्त्रालयले ७ लाख विनियोजित गरेकोमा १० लाख ११ हजार ४२८ रुपैयाँ खर्च गरेको खर्च विवरण सरकारलाई बुझाएको छ । यसैगरी उद्योग पर्यटन वन तथा वातवरण मन्त्रालयले १० रकम विनियोजन गरेकोमा १६ लाख ५८ हजार ५४ रुपैयाँ तथा आन्तरिक मामिला मन्त्रालयले ७ लाख बजेट विनियोयजन गरेकोमा ४ लाख ६१ हजार ४० रुपैयाँ र भौतिक पूर्वाधार मन्त्रालयले १० लाख विनियोजन गरेकोमा १० लाख ९३ हजार ३ सय ६० रकम खर्च गरेको छ ।