ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मार्जिन कारोबारका लागि सात ब्रोकरले मागे अनुमति

Mar 10, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary NA
author avatar प्रजिता बुढाथोकी
काठमाडौं । मार्जिन कारोबार सुविधा प्रदान गर्न सात धितोपत्र दलाल व्यवसायी (ब्रोकर) अग्रसर देखिएका छन् । मार्जिन कारोबार सञ्चालनका लागि यी कम्पनीले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)सँग अनुमति मागेका हुन् । नेप्सेले फागुन १४ गते सूचना जारी गरी यो कारोबार सञ्चालन गर्न योग्य ब्रोकरसँग आवेदन माग गरेको थियो । सोही माग बमोजिम नेपाल स्टक हाउस (ब्रोकर नं. १४), दक्षिणकाली इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज (ब्रोकर नं ३३), भिजन सेक्युरिटिज (ब्रोकर नं. ३४), डाइनामिक मनी म्यानेजर सेक्युरिटिज (ब्रोकर नं. ४४), अनलाइन सेक्युरिटिज (ब्रोकर नं. ४९), क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज (ब्रोकर नं. ५०) र नासा सेक्युरिटिज (ब्रोकर नं. ५८)ले अनुमति माग्दै निवेदन पेश गरेको नेप्सेले जानकारी दिएको छ । नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले विहीबारसम्म सात कम्पनीको आवेदन परेको भन्दै स्वीकृतिका लागि आवश्यक प्रक्रिया जारी रहेको बताए । आवेदन दिएका धेरैजसो ब्रोकर कम्पनीले आवश्यक विवरण पूर्णरूपमा पेश नगरेको उनको भनाइ छ । आवश्यक विवरण पेश गर्न बाँकी ब्रोकर कम्पनीसँग थप विवरण पेश गर्न भनिएको पनि उनले जानकारी दिए । ब्रोकरहरूले आवेदन पेश गर्दा कर चुक्ता गरेको प्रमाणपत्र, बोर्डद्वारा व्यवसाय सञ्चालनको अनुमतिपत्र, नेप्सेको सदस्यता नवीकरणको प्रमाणपत्र, तोकिए बराबरको खुद सम्पत्ति लेखा परीक्षकबाट प्रमाणित भएको आवश्यक कागजातका साथै कम्पनीको सञ्चालक समितिले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन गरेको निर्णय निवेदनसाथ संलग्न गर्नुपर्ने व्यवस्था छ । धितोपत्रमा लगानी गर्न चाहने लगानीकर्तालाई प्रदान गर्ने यो सेवाका लागि हाल सञ्चालनमा रहेका ५० ब्रोकर कम्पनीमध्ये आधाभन्दा बढी योग्य रहेको नेपाल स्टक ब्रोकर एशोसिएशनका अध्यक्ष भरत रानाभाटले बताउँदै आएका छन् । नेप्सले मार्जिन कारोबारका लागि आवेदन खुला गरिसकेकाले योग्य सबै ब्रोकरहरू निवेदन पेश गर्न आवश्यक विवरण तयार गर्ने क्रममा रहेको उनको भनाइ छ । मार्जिन कारोबार सुविधा सञ्चालनका लागि नेपाल धितोपत्र बोर्डले गत कात्तिकमै मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका, २०७४ जारी गरेको थियो । मार्जिन कारोबार उपलब्ध गराउने तथा धितोपत्र दलाल व्यवसायीको कार्यक्षेत्र विस्तार गर्ने उद्देश्यले जारी निर्देशिका बमोजिम कार्यविधि बनाई नेप्सेले गत जेठमै बोर्डको स्वीकृति लिएको थियो । धितोपत्र खरीदका लागि लगानीकर्तालाई कार्यविधि अनुसार हाल नेपालमा सञ्चालित ५० धितोपत्र दलाल व्यवसायीकै लागि यो सुविधा उपलब्ध गराउने उद्देश्य हो । सबै ब्रोकरका लागि यो अवसर दिए पनि ब्रोकरको स्वेच्छाले यो सेवा प्रदान गर्न सक्ने सम्बद्ध निकायको भनाइ छ । ब्रोकरलाई मार्जिन कारोबार सुविधा लागू गर्नुपूर्व बैंक तथा वित्तीय संस्थाले पनि शेयर धितो राखेर ऋण उपलब्ध गराउँदै आएका थिए । बैंकको चर्को ब्याजदर र निरन्तर घट्दो बजारका कारण मार्जिन कलको मारमा परेका लगानीकर्ताले मार्जिन कारोबारमा सहुलियतपूर्ण ब्याजदर तय हुने आश गरेका छन् । लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाबाट पनि यस प्रकारको सेवा पाइरहेको अवस्थामा यिनीहरूको तुलनामा सहुलियत हुने किसिमको ब्याजदर निर्धारण हुनुपर्नेमा जोड दिएका छन् । वर्तमान पूँजीबजारको अवस्था हेरेर मार्जिन कारोबारको ब्याजदर तय गरिनुपर्ने लगानीकर्ताको माग छ । बोर्डले ब्रोकर र लगानीकर्ताको समझदारीमा मार्जिन कारोबारका लागि ब्याजदर निर्धारण गर्न निर्देशन दिएको छ । तर हालसम्म ब्याजदरको विषय भने टुंगो लागेको छैन । मार्जिन कारोबार सञ्चालनका लागि ब्रोकरको खुद सम्पत्ति कम्तीमा रू. ५ करोड हुनुपर्ने व्यवस्था छ । ब्रोकरले मार्जिन कारोबार उपलब्ध गराउँदा कम्तीमा १० हजार शेयरधनी रहेको तथा नेटवर्थ सकारात्मक रही पछिल्लो दुई आर्थिक वर्षमा न्यूनतम वार्षिक १० प्रतिशत लाभांश वितरण गरेको सूचीकृत संगठित संस्थाको शेयरमा मात्र उपलब्ध गराउनुपर्ने व्यवस्था छ । नेप्सेले मार्जिन कारोबार प्रणाली लागू हुनुपूर्व यस कारोबारका लागि योग्य कम्पनीको पहिचान गर्ने कार्य समेत गरिरहेको बताएको छ । धितोपत्र दलाल व्यवसायीले यो सुविधा आफ्नै स्रोत वा वाणिज्य बैंकसँग रकम लिएर आफ्नो प्रमाणित नेटवर्थको २ गुणासम्म उपलब्ध गराउन सक्नेछन् । मार्जिन सेवा उपलब्ध गराउँदा सूचीकृत संस्थाको शेयरको १ सय ८० दिनको औसत मूल्य वा बजार मूल्यमध्ये कम ५० प्रतिशत हुन आउने रकम ग्राहकसँग प्रारम्भिक मार्जिनका रूपमा लिनुपर्नेछ । यस सम्बन्धमा धितोपत्र दलाल व्यवसायीले मार्जिन कारोबार सुविधा अवधिभर बजारको अवस्था तथा जोखिम हेरी ग्राहकसँग ४० प्रतिशत मार्जिन लिनुपर्ने प्रावधान छ । शेयरमा निहित जोखिमलाई ध्यानमा राखी दलाल व्यवसायीले ४० प्रतिशतभन्दा बढी मार्जिन माग गर्न सक्ने पनि व्यवस्था छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)