ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

आस्बा सेवा : कारोबारमा सुविधा, सेवाशुल्कमा गुनासो

Mar 10, 2019  
लगानी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar मल्लिका घिमिरे
काठमाडौं । हालसम्म धितोपत्र बोर्डबाट ६४ कम्पनीले सी–आस्बाको सेवा प्रदान गर्न अनुमति लिएका छन् । यी कम्पनीले आस्बा सेवा प्रदान गरेसँगै धितोपत्र सार्वजनिक निष्कासनमा आवेदन दिन लगानीकर्तालाई सहज भएको छ । साथै आस्बा सेवामार्फत विद्युतीय प्रणालीबाट आवेदन लिन सकिने भएकाले धितोपत्र बाँडफाँटको अवधिसमेत छोटो भएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन अनुसार आव २०७४÷७५ को अन्त्यसम्म ५७ कम्पनीले सी–आस्बामार्फत शेयर निष्कासन तथा बाडफाँट गरेका छन् । तीमध्ये १० ओटा कम्पनीले आईपीओ, ६ ओटाले एफपीओ र ३२ ओटा कम्पनीले हकप्रद शेयर जारी गरी बाँडफाँट गरेका हुन् । सीडीएससीका अनुसार सो अवधिसम्म ७ लाख ६६ हजार ५ सय ४८ जनाले यो सेवा लिएका छन् । हाल १७ वाणिज्य बैंकले आफ्ना ग्राहलाई निःशुल्क आस्बा सेवा दिँदै आएका छन् भने ११ ले शुल्क लिने गरेका छन् । नेपाल धितोपत्र बोर्डले सी–आस्बा २०७३ निर्देशिका लागू गरेपछि लामो समयसम्म लाइन बसेर आवेदन दिनुपर्ने समस्याको अन्त्य भएको छ । आस्बा सेवा उपलब्ध गराएबापत विभिन्न बैंक तथा वित्तीय संस्थाले फरक फरक शुल्क लिने गरेका छन् । कतिपय बैंकले आफ्ना ग्राहकको सुविधा र बैंकको आकर्षण बढाउन निःशुल्क आस्बा सेवासमेत दिएका छन् । २८ वाणिज्य बैंकमध्ये एभरेस्ट बैंक, सेञ्चुरी कमर्शियल र स्ट्यान्डर्ड चार्टर्ड बैंकले आस्बा सेवाबापत रू. १०० शुल्क लिने गरेका छन् भने बाँकी बैंकले रू. १० देखि ३० सम्म शुल्क लिने गरेका छन् । सम्बन्धित बैंकले दिएको जानकारी तथा वेबसाइटले यस्तो देखाएको हो । धितोपत्र बोर्डको निर्देशिकामै रू. १०० लिन पाउने व्यवस्था रहेकाले आस्बा सेवा प्रदान गरेबापत सोही शुल्क लिँदै आएको एभरेस्ट बैंकले जानकारी दिएको छ । धेरैजसो आस्बा सदस्यले निःशुल्क सेवा प्रदान गर्दै आएकोमा बढी शुल्क बुझाउनुपरेको भन्दै लगानीकर्ताले गुनासो गरेका छन् । कतिपय लगानीकर्ताले अन्य आस्बा सदस्यको तुलनामा बढी शुल्क तिर्नुपरेकाले खाता नै बन्द गर्नुपरेको गुनासो सामाजिक सञ्चालनमा राखेका छन् । नेपाल धितोपत्र बोर्डले ल्याएको आस्बा निर्देशिका अनुसार बैंक तथा वित्तीय संस्थाले धितोपत्र खरीदसम्बन्धी सुविधा उपलब्ध गराएबापत बढीमा रू. १ सय लिन पाउने व्यवस्था छ । बैंक तथा वित्तीय संस्थाले दरखास्त संकलन शुरू गर्नुभन्दा कम्तीमा ३ दिनअघि लिने शुल्कबारे दैनिक पत्रिका वा कार्यालयको सूचना पाटी र वेबसाइटमार्फत सर्वसाधारणलाई जानकारी गराउनुपर्छ । बैंक तथा वित्तीय संस्थाले धितोपत्र विक्री बन्द भएको मितिले १ महीनाभित्र निष्कासन तथा विक्री प्रबन्धकलाई प्रतिदरखास्त रू. १० रुपैयाँ बुझाउनुपर्छ । धितोपत्र शेयरको सार्वजनिक निष्कासनमा आवेदन दिने आवेदकको पैसा धितोपत्रको बाँडफाँट नहुन्जेलसम्म आवेदककै बैंक खातामा रोक्का हुने व्यवस्था आस्बा सेवा हो । यस प्रणाली अनुसार लगानीकर्ताले धितोपत्रको सार्वजनिक निष्कासनका लागि धितोपत्र बोर्डबाट दरखास्त संकलन गर्न अनुमति प्राप्त र आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा मात्र दरखास्त दिनुपर्ने हुन्छ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)