रुकुम । पैसा कमाउन कोही विदेश पसे, कोही शहर । तर, रुकुमको सिस्ने गाउँपालिका–३ का ४० वर्षीय ओमप्रकाश खड्काले भने घरमा बसीबसी वार्षिक ६ लाख रुपैयाँभन्दा बढी कमाउने गरेका छन् । उनले मौरीपालन व्यवसायबाट उक्त आम्दानी गर्ने गरेका हुन् ।
२०६२ सालदेखि एक घारबाट मौरी पालन शुरू गरेका उनका अहिले १११ घार मौरी रहेका छन् । जसबाट उनले वार्षिक ६ लाख रुपैयाँभन्दा बढी कमाउने गरेका छन् । उनले वार्षिक ६ सय ७५ किलोग्रामसम्म मह उत्पादन गर्ने गरेको बताए । उनले १० वर्षमा २ सयओटा मौरी घारसमेत उत्पादन गरेका छन् । यस वर्ष मात्र उनले करीब ५० घार मौरी विक्री गरेका छन् । रुकुममा प्रतिघार ८ हजार रुपैयाँ र मह प्रतिकिलो ८ सय रुपैयाँमा विक्री हुने गरेको छ ।
२०५८ सालमा जेटीजेट नामक संस्थाबाट १३ दिने आधारभूत तालीम पाएपछि उनले मौरीपालन व्यवसाय शुरू गरेको बताए । यसका साथै २०६८ सालमै मौरी पालन विकास शाखा ललितपुरबाट ६ दिने तालीम समेत पाएको उनले जानकारी दिए । उनले मौरीपालन व्यवसायको आम्दानीबाटै गाउँमा १ रोपनी जग्गा जोडेका छन् । घरमा रहेको मौरी फार्ममा जिल्लाका गाउँगाउँबाट आएका मौरीपालक कृषकलाई तालीम दिन उनी व्यस्त हुने गर्छन् ।
उनले जस्तै साविकको पोखरा गाविस–१ र ४ का प्रायः सबै घरमा मौरीपालन गरिएको छ । गाउँमा रहेका १६७ घरमध्ये केहीको घरमा मात्र मौरीका घार छैनन् । प्रायः सबैको घरमा मोरी पालन गरिएको स्थानीयले बताएका छन् । यहाँका भागीदल खड्का, कमला खड्का, तीर्थवीर विक, जितबहादुर खड्का, मोतीलाल खड्कालगायत मौरीपालन व्यवसायबाट राम्रो कमाइ गरिरहेका छन् । किसानले वार्षिक १ लाख ५० हजारदेखि साढे ६ लाख रुपैयाँसम्म मौरीपालनबाट कमाउने गरेका छन् ।