ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विद्युत् सबस्टेशन निर्माणले गति लियो

Mar 12, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा
म्याग्दी । कालीगण्डकी कोरिडोर अन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइन निर्माणले गति लिएको छ । मन्त्रिपरिषद्को २०७४ पुस १३ गतेको बैठकले गरेको वनक्षेत्रको जग्गा उपभोग गर्न दिने निर्णय कार्यान्वयन भएपछि आयोजनाको काम धमाधम अघि बढेको हो । म्याग्दी र पर्वतस्थित डिभिजन वन कार्यालयमा रूख कटान आदेशको फाइल रोकिँदा उक्त प्रसारण लाइनको काममा बाधा पुगेको थियो । प्रसारण लाइनका लागि म्याग्दीमा ३० टावर बन्ने र वनक्षेत्रको २ दशमलव ५८ हेक्टर जग्गा उपभोग गर्न दिने सरकारको निर्णय अनुसार डिभिजनले हालै रूख कटानको आदेश दिएको हो । म्याग्दीका ११ ओटा सामुदायिक वनमा पर्ने ४ हजार २०८ रूख काट्न आदेश दिइएको डिभिजन वन अधिकृत हरिशचन्द्र सापकोटाले बताए । ‘आयोजनाले वन विभागसँगको सम्झौता अनुसार जग्गा सट्टा भर्नाको प्रक्रिया शुरू गरेपछि रूख कटानको आदेश दिएका हौं,’ डिभिजन वन अधिकृत सापकोटाले भने । आयोजनाका प्रमुख चन्दनकुमार घोषले कटान आदेश पाएपछि वनक्षेत्रमा काम गर्न थालिएको बताए । उनका अनुसार पर्वत खण्डमा पनि कटान आदेशका लागि पहल भइरहेको छ । ‘सट्टा भर्ना गर्नुपर्ने जग्गाको खोजी र अध्ययन भइरहेको छ,’ उनले भने । आयोजनाले पहिलो चरणमा सट्टा जग्गा उपलब्ध गराउने प्रक्रिया अघि बढाएको घोषले बताए । नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्न दाना र खुर्कोटमा सबस्टेशनका साथै ३९ किलोमिटर प्रसारण लाइन बनाइरहेको छ । प्रसारण लाइनका ११४ टावरमध्ये विवादित पोखरेबगर खण्डमा ६ ओटा बाहेक अन्यत्र बनिसकेका छन् । अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोटमा विद्युत् सबस्टेशन निर्माण र टावरमा तार तान्ने काम धमाधम भइरहेको छ । आयोजनाको लागत २ अर्ब ९० करोड रुपैयाँ छ । एशियाली विकास बैंकको सहयोगमा उक्त प्रसारण लाइन बनाउन टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो । आयोजनाका अनुसार हालसम्म करीब ७५ प्रतिशत प्रगति भएको छ । खुर्कोटदेखि नवलपरासीको बर्दाघाटसम्म दोस्रो चरणमा प्रसारण लाइनको पूर्वाधार बनाउने तयारी भइरहेको आयोजनाका प्रमुख घोषले बताए ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)