ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तरकारी खेतीबाट स्वरोजगार बन्दै किसान

Mar 13, 2019  
बजार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar विनोद लम्साल
वीरेन्द्रनगर । व्यावसायिक तरकारी खेती गर्न थालेपछि पूर्वी सुर्खेतको गुर्भाकोटका किसानले गाउँमै रोजगारीको अवसर पाएका छन् । पहिले बिहानदेखि साँझसम्म बारीमै दिन बिताएर काम गर्दा पनि हातमुख जोर्न नपुग्ने किसानले हाल तरकारी बेच्न थालेका छन् । व्यावसायिक तरकारी खेती गर्न थालेपछि विगतमा सामान्य जीविकोपार्जनमा समस्या भएका किसानका अहिले दिन फेरिएका छन् । गुर्भाकोट नगरपालिका–२ मालारानीकी विमला कँडेलले भनिन्, ‘विगतमा खान पाइन्नथ्यो, तर अहिले त्यस्तो समस्या छैन ।’ पाँच रोपनी जग्गामा उनको परिवारले खेती गथ्र्यो । तर, खाद्यान्न संकट टर्ने गरी उत्पादन हुँदैनथ्यो । न रोजगारी थियो, न त अन्य आम्दानी । उनले भनिन्, ‘अन्नबाली लगाउने पाँच रोपनी जग्गामा मैले व्यावसायिक तरकारी खेती गरेकी छु ।’ उनको बारीमा टमाटर, काउली, बन्दा, सिमीलगायत मौसमी तथा बेमौसमी तरकारी खेती गरिएको छ । निर्वाहमुखी खेती गर्दा आम्दानी नहुने र अभावमा बाँच्नुपर्ने बाध्यता थियो । तर, डेढ वर्षयता व्यावसायिक रूपमा तरकारी खेती गर्न थालेपछि उनको परिवारको दैनिकी बदलिएको छ । वर्षमा १ लाख ५० हजार रुपैयाँ खुद मुनाफा हुने गरेको छ । तरकारी खेतीबाटै परिवारले घरखर्च चलाएको छ । आठ जनाको परिवारका लागि भरपर्दाे आम्दानीको स्रोत बनेको छ, तरकारी खेती । ‘छोरा–छोरी पठाउने, दैनिकी खर्च चलाउने लगायत खर्च तरकारीबाटै गर्छाैं,’ उनले भनिन्, ‘स्वास्थ्य उपचारदेखि सम्पूर्ण खर्च गर्दा पनि केही पैसा बचत हुने गरेको छ ।’ घर खर्चबाट बचेको पैसा बैंक तथा सहकारी र विभिन्न समूहमा मासिक, त्रैमासिक, अर्धवार्षिक तथा वार्षिक रूपमा बचतसमेत गर्ने गरेको उनले बताइन् । खाद्यबाली लगाउने जग्गामा तरकारी खेती गरेपछि मालारानीकै सीता भण्डारीले पनि मासिक रूपमा पैसा बचत गर्ने गरेकी छन् । तीन रोपनी जग्गामा उनले व्यावसायिक तरकारी खेती गरेकी छन् । तरकारी खेतीबाटै आएको आम्दानीले उनको घरखर्च चलेको छ । ‘व्यावसायिक रूपमा तरकारी खेती गर्न थालेदेखि पैसाको अभाव छ भन्नुपर्ने अवस्था छैन,’ उनले भनिन्, ‘विगतमा केटाकेटीलाई कपडा किन्दासमेत ऋण खोज्नुपर्ने अवस्था थियो, अहिले मुक्ति पाएका छौं ।’ मालारानीका विमला र सीता मात्रै होइन, पछिल्लो समयमा अधिकांश कृषक व्यावसायिक तरकारी खेतीतर्फ आकर्षित भएका छन् । छोटो समयमा राम्रो आम्दानी हुन थालेपछि विगतका वर्षमा निर्वाहमुखी खेती किसानी गर्दै आएका यस क्षेत्रका किसानले व्यावसायिक तरकारी खेती गर्न थालेका हुन् ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)