सुदूरपश्चिम प्रदेश : ३२ निर्वाचन क्षेत्रमा ६४ करोड खर्च गरिँदै
Mar 15, 2019
 
प्रदेश समाचार
धनगढी । चालू आर्थिक वर्षका लागि सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले प्रदेशका प्रत्येक निर्वाचन क्षेत्रका लागि २/२ करोडका दरले ६४ करोड रुपैयाँ विनियोजन गरेको छ । विनियोजित उक्त बजेट चालू आवको अन्तिम चौमासिकमा खर्च गर्ने तयारी भइरहेको मन्त्रालयले बताएको छ ।
सुदूरपश्चिम प्रदेशका नौ जिल्लाभित्र ३२ ओटा निर्वाचन क्षेत्र छन् । प्रत्यक्ष र समानुपातिक गरी ५३ सांसदले सुदूरपश्चिम प्रदेश सभाको नेतृत्व गर्दै आएका छन् । आफ्नो निर्वाचन क्षेत्रमा बजेट खर्च गर्न सांसदहरूले दीर्घकालीन र ठूला योजनाभन्दा पनि टुक्रे योजनाहरू बनाएर मन्त्रालयमा पेश गरेको आर्थिक मामिलामन्त्री झपटबहादुर बोहराले बताए ।
प्रदेश सांसदको दबाबपछि प्रदेश सरकारले निर्वाचन क्षेत्रका लागि बजेट विनियोजन गरेको थियो । उक्त बजेट सदुपयोगभन्दा दुरुपयोग र कार्यकर्ता खुशी पार्ने माध्यम बन्ने देखिएको छ । बजेट विनियोजन भए पनि हालसम्म एक रुपैयाँ पनि खर्च नहुनु, चालू आवको अन्तिममा आएर सांसदहरूले माग फारम बुझाउनु, एकैपटक खर्च गर्न बजेट निकासाको तयारी गरिनुले दीर्घकालीन परिणाम नआउने अर्थ विश्लेषक रामबहादुर बुढाऐर बताउँछन् ।
सांसदले प्रदेश पूर्वाधार विकास कार्यक्रम कार्यविधिअनुरूप योजनाको माग गर्नुपर्नेमा त्यो नदेखिएको बताइएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले भने कार्यविधिअनुसार भए/नभएको छानविन गरेर मात्रै बजेट निकासा गरिने बताएको छ । प्रदेशका अधिकांश सांसदले मन्दिर, पाटीपौवा, गोरेटो सडकलगायत टुक्रे योजनाका लागि बजेट माग गरेको पाइएको छ । केही सांसदले आफ्ना पार्टीका दिवंगत नेताका नाममा भवन र सभागृह बनाउने गरी योजनासहितको माग फारम मन्त्रालयमा पठाएका छन् ।
तर, कार्यविधिअनुसार पार्टी र निजी संरचनामा बजेट खर्च गर्न पाइँदैन । बजेट दुरुपयोग हुने सम्भावना देखिएकाले सांसदका योजनाहरूको सूक्ष्म अध्ययन गरी कार्यविधिअनुसार मात्रै रकमको अख्तियारी दिनुपर्ने अर्थविद्हरूको सुझाव छ ।