रुकुम । कर्णाली प्रदेशअन्तर्गतको रुकुम पश्चिम र प्रदेश राजधानी सुर्खेत नजीकैका जिल्ला हुन् । तर, दुवै जिल्ला जोड्ने सडक र पुल निर्माणमा ढिलासुस्ती हुँदा रुकुम पश्चिमवासीलाई आफ्नै प्रदेश राजधानी पुग्न पनि मुस्किल छ ।
रुकुम पश्चिमवासी सुर्खेत पुग्न ३४० किलोमिटर लामो यात्रा तय गर्छन् । सल्यान, दाङ र बाँकेको घुमाउरो बाटो भएर सुर्खेत पुग्नु पर्छ । सानीभेरी र ठूलीभेरी नदीमा पुल नबन्दा प्रदेश राजधानीसँग छोटो बाटोबाट जोडिने अवसर रुकुम पश्चिमले पाएको छैन ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–३ का वडाध्यक्ष बिर्खबहादुर बिष्टले यी नदीमा पुल बनाउन सडक डिभिजन कार्यालय चौरजहारीसँग ठेकेदार कम्पनीले सम्झौता गरेको ५ वर्ष बिते पनि बल्ल ४० प्रतिशत काम सम्पन्न भएको उनले बताए । ७ करोड ८२ लाख रुपैयाँमा निर्माण जिम्मा लिएको बिक्यु विल्डर्स काठमाडौंले दुईपटक म्याद थपिँदासमेत काम सकेको छैन ।
डिभिजन सडक कार्यालयका प्रमुख नरेन्द्र भट्टले ठेकेदारका कारण पुल निर्माण अलपत्र परेको आरोप लगाए । आउँदो जेठभित्र जसरी पनि पुल निर्माण गरी हस्तान्तरण गरिने उनको भनाइ छ । उनका अनुसार पुलको फाउन्डेशनको सम्पूर्ण काम सकिसकेको र सुपर स्ट्रक्चरको काम मात्रै बाँकी छ । जिल्लालाई प्रदेश राजधानीसित जोड्ने अन्य पुल पनि अलपत्र छन् । चौरजहारी–जाजरकोट जोड्न ठूलीभेरी नदीमाथि बन्नुपर्ने भेरी पुल अझै बन्न सकेको छैन । पछिल्लोपटक थपिएको म्याद पनि २०७५ असार २० गते सकिएको छ ।
वाईपी कन्स्ट्रक्शन प्रालिले १४ करोड ८४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । अहिले केही पिलर उठाउनेबाहेक अरू काम भएको छैन । मध्यपहाडी लोकमार्गमा पर्ने उक्त पुल नबनेकै कारण रुकुम पश्चिमलाई सुर्खेतसँग जोड्ने सडक अपूर्ण बनेको छ ।
‘पुल नबनेकै कारण जिल्लावासीलाई सुर्खेत पायक लाग्दैन,’ स्थानीय भीमबहादुर केसीले भने । मुसीकोटदेखि चाइनाबगर र चौरजहारी पुग्ने सडक अवरुद्ध हुँदा घुमाउरो बाटो भएर प्रदेश राजधानी पुग्नुको विकल्प छैन । सानीभेरीकै फल्लेबगरदेखि सर्पाचौर जोड्ने पुलको निर्माण पनि अलपत्र छ । सुर्खेतबाट सल्यानको सल्लीबजार हुँदै चौरजहारी भएर खलंगा आउने सडक पनि भरपर्दो छैन । सडक बर्खामा ठप्प हुन्छ भने हिउँदमा धुलाम्मे हुन्छ ।