ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

झाँक्रीपानीमा पर्यटन प्रवर्द्धन कार्यक्रम : पर्यटकलाई बदाम

Mar 18, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ध्रुवसागर शर्मा

चैत ४, म्याग्दी । उत्तरतर्फ मुसुक्क मुस्कुराए जस्तै देखिने हिमालका लहर,सुर्योदय र सुर्यास्त,दक्षिण र पूर्वतर्फ ठूलाठूला पहाड र लमतन्न फैलिएको घना जंगल,पश्चिमतर्फ सुन्दर गाउँका साथै म्याग्दीका दर्जनौं ग्रामिण क्षेत्रहरुको एकै ठाउँबाट अवलोकन गर्न पाइने रमणीय ठाउँ हो बरंजाको झाँक्रीपानी ।

प्रचुर पर्यटकीय सम्भावनाले युक्त मंगला गाउँपालिका–३स्थित झाँक्रीपानीको पर्यटकीय सम्भावनालाई उजागर गरी पर्यटकहरुलाई त्यस ठाउँमा पुर्‍याउनका लागि सामाजिक संस्था लायन्स क्लब अफ बेनी पिस सिटीको आयोजनामा पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

निजी क्षेत्रको छाता संगठन म्याग्दी उद्योग वाणिज्य संघले मनाइरहेको म्याग्दी भ्रमण वर्ष–२०७५ लाई सहयोग पुर्‍याउने उद्देश्यसहित पर्यटकीयस्थलको उजागर गर्नका लागि कार्यक्रम गरिएको लायन्स क्लब अफ बेनी पिस सिटीले जनाएको छ । कार्यक्रमको अवसरमा झाँक्रीपानीवासीलाई ‘म्याग्दी भ्रमण वर्ष–२०७५ सफल पारौं’ भन्ने नारा र लोगो अकिंत टिसर्ट र टोपी वितरण गरिएको थियो ।

उनीहरुलाई लायन्स क्लब अफ बेनी पिस सिटीका संस्थापक अध्यक्ष एवं म्याग्दी उद्योग वाणिज्य संघका द्वितीय उपाध्यक्ष राजेश शाक्य र सचिव सुवर्ण रिजालले टिसर्ट तथा टोपी वितरण गरेका थिए । सोही क्रममा लायन्स क्लब अफ बेनी पिस सिटीको तर्फदेखि स्थानीय सुरक्षित मातृत्व आमा समूहलाई नगद रू.११ हजार एकसय ९० सहयोग गरिएको थियो । कार्यक्रममा आमा समूहले लालीगुराँसको फूल प्रयोग गरेर बनाएको माला,अबिर लगाएर लायन्स क्लबका पदाधिकारी र पत्रकारलाई स्वागत एवं सत्कार गरेका थिए ।

उक्त कार्यक्रममा स्थानीय युवा कलाधर कँडेलले बरंजालाई चिनाउनका लागि साविक बरंजा गाविसका ९ ओटै वडामा रहेका धार्मिक, ऐतिहासिक र पर्यटकीयस्थलहरु समेटेर म्युजिक भिडियो बजारमा ल्याउन आवश्यक तयारी अगाडि बढाइएको जानकारी दिए। बरंजा सांस्कृतिक समूह गठन गरेर बजार ल्याउने तयारी गरिएको गीतको शब्द रचना कलाधर कँडेल आफैले गरेका छन् भने संगीत दीपक शर्माले भरेका छन् ।

कार्यक्रममा गीत प्रस्तुत समेत गरिएको थियो भने स्थानीयवासिन्दाले झाँक्रीपानी क्षेत्रको पर्यटकीय सम्भावना, ऐतिहासिक महत्व र त्यहाँबाट देखिने दृश्यवलोकन तथा विकास निर्माणका विषयहरुमा जानकारी गराएका थिए ।बरंजा भर्खरै–भर्खरै विकासको गतिमा अगाडि बढेको बताउँदै सांस्कृतिक सम्पदाको संरक्षण र गाउँमा पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ म्युजिक भिडियो निर्माणको थालनी गरिएको युवा कँडेलको भनाइ छ । म्याग्दी भ्रमण वर्षका अभियन्ता समेत रहेका लायन्स क्लब अफ बेनी पिस सिटीका अध्यक्ष शाक्यले जिल्लामा रहेका ऐतिहासिक,पर्यटकीय र धार्मिक क्षेत्रहरुको प्रचारप्रसार गरेर पर्यटन प्रवर्द्धन गर्न भ्रमण वर्ष मनाइएको बताउँदै पर्यटकीयस्थलहरुको प्रचारप्रसारका साथै उजागर गर्न आवश्यक रहेकोमा जोड दिए ।

मंगला–४ का वडाअध्यक्ष ओमबहादुर रोका, जिल्लामा क्रियाशिल पत्रकार र लायन्सका पदाधिकारीहरुको सहभागिता रहेको कार्यक्रम स्थानीय पत्रकार केपी सापकोटाले सञ्चालन गरेका थिए । समुन्द्री सतहदेखि २ हजार २ सय मिटरको उचाइमा अवस्थित पर्यटकीयस्थल झाँक्रीपानीबाट संसारको सातौं अग्लो चुचुरो धौलागिरी हिमालसहित गूर्जा, मानापाथी, अन्नपूर्ण, निलगिरी, माछापुच्छे लगायत मनोरम हिमश्रृखंलाहरुको दृश्यावलोकन गर्न सकिन्छ । झाँक्रीपानीको वनजगंलमा फागुनदेखि बैशाखसम्म ढकमक्क फुलेको लालीगुराँसको पनि अवलोकन गर्न पाइन्छ ।

यसअघि मंगला–१, कुहुँस्थित पर्यटकीय क्षेत्र टोड्के, बेनी नगरपालिका–३, भकिम्लीको स्वर्गाश्रम र बेलढुंगा तथा रघुगंगा गाउँपालिका–३, राखुभगवतीको रुईसे–भेडीओढारमा पर्यटन प्रवर्द्धनसम्बन्धी कार्यक्रम गरिएको थियो ।बरंजा प्रशस्त मात्रामा बदाम उत्पादन हुने ठाउँ हो । स्थानीयले त्यस ठाउँमा पुग्ने पर्यटकहरुलाई स्थानीय परिकारका साथै बदामले स्वागत गर्ने व्यवस्था मिलाएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)