सुर्खेत । सुर्खेतका व्यापारीले म्याद नाघेका खाद्यवस्तु पसलबाट हटाउन अटेरी गरेका छन् । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको नेतृत्वमा सोमवार सदरमुकाम वीरेन्द्रनगरमा गरिएको बजार अनुगमनमा यस्तो पाइएको हो ।
निमित्त डिभिजन प्रमुख भेषबहादुर थापाको नेतृत्वमा गएको टोलीले बजारका पाउरोटी उद्योगका साथै खाद्यान्न पसलको अनुगमन गरेको थियो । टोलीले उपभोग्य म्याद नाघेका पाउरोटी, बिस्कुट र पेय पदार्थ जफत गरेको छ । यस क्रममा व्यापारीले उपभोग्य वस्तुको मूल्यसूची नराखेको, पसल नै दर्ता नगरेको, दर्ता गरेकाले पनि नियमित अद्यावधिक नगरेको, सरसफाइमा ध्यान नदिएको, अव्यवस्थित रूपमा सामान राखेको, खरीदविक्री बिल नभएको, म्याद नाघेका वस्तु बेचेको लगायत समस्या देखिएको थापाले बताए । ‘तरकारी, मदिरा र फलफूल एकै ठाउँमा राखेको समेत पाइएको छ,’ उनले भने, ‘अनुगमनका क्रममा कमजोरी गर्ने व्यवसायीलाई सचेत बनाएर सुधारको निर्देशन दिइए पनि कार्यान्वयनमा अटेरी गर्दै आएका छन् ।’
एउटै वस्तुको फरक मूल्य
वीरेन्द्रनगरका बजारमा एउटै वस्तुको मूल्य पसलैपिच्छे फरक पाइन्छ । मूल्यसूची नै नभएपछि कुन सामानको कति मूल्य पर्छ, उपभोक्तालाई थाहा हुँदैन । त्यसपछि व्यापारीले भनेको मूल्य तिर्न उनीहरू बाध्य हुने गरेका छन् । उपभोग्य सामग्रीको मनोमानी मूल्यले आफूहरू मर्कामा परेको वीरेन्द्रनगर–११ की कौशिला खत्रीले गुनासो गरिन् । ‘खाना पकाउने ग्यास, नून, तेल, चामलको मूल्य पसलैपिच्छे फरक छ,’ उनले भनिन्, ‘रत्नर ाजमार्गका कुनै पनि पसलमा मूल्यसूची राखिएको छैन ।’
राष्ट्रिय उपभोक्ता मञ्च, सुर्खेतका सचिव रामप्रसाद शर्माले स्थानीय प्रशासनले वार्षिक योजना अनुसार मात्र अनुगमन गर्ने गरेकाले मूल्यवृद्धि र कालोबजारी हुने गरेको बताए । ‘चाडपर्वमा मात्र नभई जुनसुकै बेला पनि अनुगमन गरी कारबाही गर्न सकेमा मात्रै यस्तो समस्या हट्छ,’ उनले भने । स्थानीय प्रशासनले अनुगमनका क्रममा मूल्यसूची राख्न निर्देशन दिने गरे तापनि व्यापारीले भने त्यसको पालना गरेको पाइँदैन । यद्यपि निर्देशन अटेर गर्ने व्यापारीलाई कारबाहीको दायरामा ल्याइने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका निमित्त प्रमुख थापाले बताएका छन् । जिल्लाका व्यापारिक केन्द्रमा गरिने बजार अनुगमनले निरन्तरता नपाउँदा अखाद्य वस्तुको बिगबिगी समेत बढेको छ ।