ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बिचौलिया मोटाउँदै , किसान दुव्लाउँदै

Mar 30, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशन तिवारी

चैत १६, पर्वत । तरकारी खेतीमा लागेका कुश्मा नगरपालिका ११ का ईश्वरीप्रसाद भुसाल तरकारी छोडेर पशुपालनमा लागेका छन् । तरकारी खेतीमा बिचौलिया मात्रै मोटाउने तर, आफु संधै पीडित बनेपछि उनले तरकारी खेती छोडेका हुन् । ‘वर्षभरि दुःख गरे अनुसारको मुनाफा पाईन,’ उनले भने,‘ तरकारी भन्दा दुध उत्पादनमा नाफा देखेर तरकारी खेती छोडें ।’

पछिल्लो समय तरकारी खेतीतर्फ किसानको आकर्षण बढ्दो छ । तर, तरकारी खेतीमा लगानी अनुसारको प्रतिफल नपाएपछि किसानहरु पेशाबाट पलायन हुने अवस्थामा छन् । जलजला ८ लस्तीका किसान पनि तरकारीमा बिचौलियाका कारण समस्यामा परेका छन् । तरकारी किन्न बारीमा व्यापारी पुगेर मोलमोलाई गर्छन् । बजार भाउ उनीहरुलाई थाहा नै छैन् । ‘हामीलाई बजारमा तरकारीको भाउ थाह नै हुन्न,’ राजन सापकोटाले भने,‘ यहाँ आउने व्यापारीले जति भन्छन् त्यतिमा तरकारी बेच्न हामी बाध्य हुन्छौं ।’ हामीले डोकोले नापेर तरकारी बेच्छौं तर उनीहरु (व्यापारी) ले पाउमा बेचेर नाफा कमाउँछन् । उनले तरकारी व्यवसायबाट मिहेनत अनुसारको फल नपाएको दुखेसो गरे ।

यहाँका तुलवहादुर खत्री, हरेमबहादुर खत्री, बाबुराम जिसी, रामु सुवेदी, राजेन्द्र खत्री, रत्नबहादुर खत्री, कृष्ण आचार्य, मानबहादुर जीसी, राजन सापकोटा, पार्वती केसी, दधिलाल सुवेदी र तारानाथ रेग्मी लगायत ६५ परिवारले तरकारी खेतीबाट जिविका चलाईरहेका छन् । तर, किसान केही वर्षयता चर्को मारमा परेका छन् । बिक्रेताहरूले भारतबाट पनि तरकारी ल्याउने गरेका छन् । भारतबाट आउने तरकारीले यहाँको तरकारीसंग प्रतिष्पर्धा गर्दा समस्या भएको किसानहरुले बताए ।‘हामीले बाहिरबाट ल्याउनेको भाउसँग प्रतिस्पर्धा गर्न सक्दैनौं,’ किसान पार्वती केसीले भनिन्, ‘यहाँका व्यापारीले उतैको भाउमा खोज्छन् । हाम्रो उत्पादनको लागत पनि उठेन ।’

यो सिजनमा किसानले मुला, बन्दा काउली, आलु, मुला, गाजर, आलुलगायतको तरकारी उत्पादन गर्छन् । बजारमा पुर्‍याउंदा बिचौलियाले भाउ दिँदैनन । तिनै बिचौलियाले भने किसानसँग थोकमा किनेको तरकारी थोकमै बेच्दा पनि १ सयदेखि ४ सय गुणासम्म नाफा लिँदै आएका छन् । बजारमा हाल किसानको बिक्री मूल्य बन्दा र मुला प्रतिकिलो रू.१०, आलु, गाजर र काउली प्रतिकिलो रू. ३० पर्छ । व्यापारीले प्रतिकिलो ४ गुणासम्म फाइदा लिएर बिक्री गर्दै आएको किसानले बताए । ‘हामीले डुलाएर बेच्दा बन्दा र मुला रू. १० मा लिन किचकिच गरे,’ नेत्र आचार्यले भने, ‘हामीसँग रू.१० मा राखेका व्यापारीले हाम्रै अगाडि होलसेलमै रू.४० मा बेचे । यस्तो अवस्था भएपछि कसरी तरकारी फलाउने ?’ वर्षभरि हड्डी घोटेर उत्पादन गरेको तरकारी बिचौलिया मोटाउने आधार मात्रै भएको उनीसहितका किसानको गुनासो छ ।

उन्नत जातका नाममा बजारमा तरकारीको बीउ तथा मल महँगिएर किनिसाध्य छैन । एक–दुई रोपनी खेतमा तरकारी लगाउँदा किसानलाई ऋण खोज्नुपर्छ । ‘एक पाकेट गाजरको बिउलाई रू. २३ सय रुपैयाँ पर्छ,’ अगुवा किसान तुलबहादुर खत्रीले भने, ‘बजारमा पुर्याएपछि तिनै व्यापारी मोटाउने गरी हाम्रो ढाड सेक्छन् । बेचौं लगानी उठदैन, नबेचौं बारीमै कुहिन्छ ।’ रासायनिक मल, बिसादी उपकरण लगायत सबैको मूल्य अकासिँदै गए पनि उत्पादनको मूल्य कहिल्यै बढ्न नसक्दा परिवार पाल्नै मुस्किल परेको उनले बताए ।

किसानका लागि आउने सरकारी सहयोग र अनुदानमा संघियतापछि कटौती हुँदै गएको किसानहरूको गुनासो छ । ‘अहिले स्थानीय तहबाट आउने अनुदान पनि नेताहरूले आफ्ना मान्छे छानीछानी बाँडछन्,’ रामु सुवेदीले भने, ‘दुःख गर्ने र वास्तविक किसानले कहिल्यै सहयोगको अवसर पाउँदैन ।’ गाउँपालिकाले पानमा दर्ता भएको फार्मलाई मात्रै अनुदान दिने भएपछि किसानहरू थप मर्कामा परेका हुन् । ‘फार्म दर्ता गर्न आफ्नै जग्गाको लालपुर्जा चाहिँदोरहेछ,’ तुलबहादुरले भने, ‘धेरैजसोले जग्गा भाडामा लिएर तरकारी लगाउँछन् । वास्तविक किसान तिनै हुन् । तिनले कसरी जग्गाको लालपुर्जा लिएर फार्म दर्ता गर्न सक्छन ?’

फार्म दर्ता गर्न खोज्ने किसानले पनि दर्ताप्रक्रिया र वर्षैपिच्छे नवीकरणका झन्झटका कारण समस्या भोग्नुपरेको गुनासो गरेका छन् । गाउँनजिकै आएको स्थानीय सरकारबाट सहयोगको विपरीत झन्झट र दोहोरो–तेहोरो करको मारमा परेपछि समस्या बढेको उनीहरूको गुनासो छ । उत्कृष्ट किसानलाई जग्गा, कागजपत्र र सम्पत्तिका आधारमा नभई उसको सक्रियताका आधारमा अनुदान र बजारीकरणको व्यवस्था स्थानीय सरकारले गर्नुपर्ने किसानको माग छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)