ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रतिवन्ध लगाउंदा विराटनगरमा माछाको अभाव

Mar 30, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar रोशनी भट्टराई

चैत १६, विराटनगर । सरकारले भारतबाट पशुपन्छी आयातमा रोक लगाएसँगै प्रदेश नम्बर १ को राजधानी विराटनगरमा माछाको अभाव देखिन थालेको छ । भारतबाट माछा आयातमा रोक लागेसँगै विराटनगरमा माछाको मूल्यसमेत वृद्धि भएको पाइएको छ ।

स्वदेशी उत्पादनका लागि बजार व्यवस्थापन गर्न, उपभोक्तालाई स्वच्छ र स्वस्थ मासु उपभोग गराउन र मुलुकलाई मासुजन्य पशुपन्छीमा आत्मनिर्भर बनाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयको निर्देशनमा केही दिनदेखि पशुपन्छी आयातमा कडाई गरिएको थियो । विराटनगरका माछा व्यवसायीहरूले भारतबाट आयात राकिएकाले उपभोक्ताको मागअनुसार माछा आपूर्ति गर्न नसकिएको बताएका छन् । आयातमा रोक लागेसँगै माछाको मूल्यवृद्धि भएको उनीहरूको भनाइ छ । माछा व्यवसाय संघका अध्यक्ष मालबावु सहनीले विराटनगर नाकाबाट दैनिक ६ मेट्रिक टनभन्दा बढी भारतीय माछा आयात हुने गरेको जानकारी दिए । उनका अनुसार दैनिक करिब एक मेट्रिक टनमात्र नेपाली माछा बजारमा आउने गरेको छ ।

विराटनगरबाट पूर्वका इटहरी, बेलबारी, धरान, धनकुटा, खाँदबारीसहित प्रदेश नम्बर २ का सप्तरी र सिरहालगायतका जिल्लामा समेत भारतीय माछा जाने गरेको उनले बताए । विगत केही महिनादेखि प्रदेश २ बाट विराटनगरमा माछा आउने क्रम बढेको थियो । तर सरकारले भारतीय माछा आयातमा रोक लगाएसँगै प्रदेशको २ को माछासमेत आउने छाडेको सहनीले बताए । ‘उत्पादन हुने माछा त्यहीँ अपुग भएकाले आउन बन्द भएको छ’ उनले भने, ‘त्यसले गर्दा विराटनगरमा माछा व्यवसाय थप मारमा परेको छ ।’ अर्का माछा व्यवसायी अजय कुमार सिंहले भारतीय माछा आयातमा रोक लागेसँगै आफूहरूको व्यवसाय चौपट भएको गुनासो गरे । विगत २० वर्षदेखि माछाको थोक व्यापार गर्दै आएको बताउँदै उनले भारतबाट माछा आयातमा रोक लागेपछि व्यवसाय सञ्चालनमा समस्या भएको बताए ।

अहिले बजारमा मागको २० प्रतिशत मात्रै माछा आपूर्ति भइरहेको उनले बताए । ‘नेपालमा उत्पादन भएको माछा दुई घण्टामै सिद्धिन्छ’ उनले भने– ‘बाँकी ग्राहक खाली हात फर्किने गरेका छन् ।’ भारतबाट माछा आयातमा रोक लगाएसँगै विराटनगरमा माछामा प्रतिकिलो रू.५० देखि एकसयसम्म मूल्यवृद्धि भएको छ । थोकबाटै महँगो किनेर ल्याउनु पर्ने भएकाले उपभोक्तालाई बेच्दा मूल्यवृद्धि भएको खुद्रा व्यवसायी बताउँछन् ।

पहिले रू.२ सय ५० देखि ३ सयसम्म थोकमा बिक्री हुने माछा अहिले खुद्रामा प्रतिकिलो रू.३ सय ५० देखि ४ सय ५०सम्ममा बिक्री हुने गरेको छ । प्रतिबन्धपछि भारतबाट आउने सरूवा रोगको नियन्त्रणमा समेत सहयोग पुग्ने सरकारको भनाइ छ । भारतबाट वार्षिक रू.१ अर्ब ८३ करोड मूल्य बराबरको माछा आयात हुने गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)