रौतहट । बागमती सिँचाइ आयोजना कमैयामा कार्यरत रौतहट र सर्लाहीका कर्मचारी विभिन्न माग राख्दै धर्नामा बसेका छन् । माघ र फागुन महीनाको पारिश्रमिक तथा सेवासुविधा दिन र कर्मचारीको मनोबल गिराउने काम नगर्न भन्दै उनीहरूले आन्दोलन शुरू गरेका हुन् ।
आफू कार्यरत दुवै जिल्लाको प्रशाखाको काम छाडेर कर्मचारी २ सातादेखि आयोजनाको मूल गेटमा धर्ना बसेका छन् । पेशाको सुनिश्चितता हुनुपर्ने र श्रमको मूल्य पाउनुपर्ने माग राख्दै उनीहरू चैत ३ गतेदेखि आन्दोलनका चरणबद्ध कार्यक्रम गर्दै आएका छन् । मागको सुनवाइ नभएपछि आन्दोलनका थप कार्यक्रम तय गरिएको सिँचाइ विभाग अस्थायी, करार पारिश्रमिक कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष केशव रेग्मीले बताए । जनशक्ति परिचालन शीर्षकबाट तलब खुवाउँदै आएको आयोजनाले बागमती मनुस्मारा झाँझ सिँचाइ व्यवस्थापन कार्यालयले तलब दिने भनेपछि कर्मचारी आन्दोलित भएका हुन् ।
आयोजनामा कार्यरत २५५ कर्मचारी आन्दोलित भएपछि कार्यालयको कामकारबाही अवरुद्ध भएको छ । बागमती सिँचाइ आयोजना अन्तर्गतको मूल र प्रशाखा नहरबाट सर्लाही र रौतहटका झन्डै ४६ हजार ५ सय हेक्टर जग्गामा सिँचाइ हुँदै आएको छ । बागमती सिँचाइ आयोजना प्रमुख विनयकुमार गामीले जनशक्ति परिचालन शीर्षकको तलबको रकम सिँचाइ विभागले व्यवस्थापनतर्फ पठाएपछि कर्मचारीलाई तलब दिन नसकिएको बताए ।