ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बाँफिकोटमा विद्युत सबस्टेसन निर्माण हुंदै

Apr 1, 2019  
प्रदेश समाचार
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar प्रवीर ददेल
चैत १८, रुकुम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ९, भेराखेतमा ४ सय केभी क्षमताको विद्युत सबस्टेसन बन्ने भएको छ । स्थानीय रूपमा उत्पादित विद्युतलाई केन्द्रीय ग्रिडमा जोड्न नेपाल विद्युत प्राधिकरणले सबस्टेसन निर्माण गर्न थालेको हो । पहिलो चरणमा सबस्टेसन निर्माणका लागि जग्गा अधिग्रहण गर्ने प्रक्रिया सुरु गरिएको छ । जसका लागि ७२ घरपरिवारको करिब १ सय १८ रोपनी जग्गा अधिग्रहण गरिने जनाइएको छ । जिल्लास्तरीय मुआब्जा निर्धारण समितिको बैठकबाट त्यस जग्गाको उचित मूल्य सिफारिस गर्न सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मालपोत, नापी, स्थानीय जनप्रतिनिधि र आयोजनाका प्रतिनिधि रहेको एक उपसमितिसमेत बनाइएको छ । प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीका अनुसार उपसमितिले प्रचलित कानुन र स्थानीयसँग परामर्शमा प्रतिवेदन तयार गर्ने छ । त्यसकै आधारमा समितिको बैठकबाट यसको टुंगो लगाइने प्रजिअ रेग्मीको भनाइ छ । जग्गा प्राप्ति ऐनअनुसार जग्गादाताको व्यक्तिगत खातामै पुँजीगत लाभकरको समेत हिसाब गरेर रकम जम्मा गरिनेछ । जग्गा अधिग्रहणको लागि सार्वजनिक सूचना जारी गरिसकिएको छ । मूल्य निर्धारण समितिले विभिन्न मापदण्डका आधारमा जग्गाको मूल्य तय गरेको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको मूल्य निर्धारण समितिले प्रतिरोपनी रू.९ लाख मूल्य निर्धारण गरेको छ । चालु आर्थिक वर्षमा मुआब्जा प्रदान गरेर जग्गा अधिग्रहण गरिसक्ने योजना रहेको आयोजनाका प्रवन्धकसमेत रहेका विद्युत प्राधिकरणका इन्जिनियर बलभद्र गिरीले जानकारी दिए । ‘जग्गा अधिग्रहणपछि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयारीका साथै वातावरणीय अध्ययन समेत गरिनेछ,’ उनले भने, ‘डीपीआर प्रतिवेदन र आगामी वर्षको बजेटबाट मात्रै आयोजनाको कुल लागत र निर्माण लागि लाग्ने समयबारे प्रस्ट हुनेछ ।’ छिमेकी जिल्ला जाजरकोटमा निर्माण हुने नलसिंहगाड जलविद्युत् आयोजनालाई समेत उक्त सबस्टेसनमार्फत केन्द्रीय लाइनमा जोड्ने सरकारको योजना रहेको छ । उक्त आयोजना निर्माणको काम ढिलाइ भएकाले त्यसको भविष्यसँग उक्त सबस्टेसनको समेत भविष्य जोडिएको इन्जिनियर गिरीले बताए । रुकुममा मात्रै विद्युत विकास विभागबाट अनुमति लिएका ६ आयोजनाबाट २ सय मेगावाटभन्दा बढी विद्युत उत्पादन हुने अनुमान गरिएको छ । ४ सय केभीको सबस्टेसन बने पनि यहाँबाट बाहिर लाने लाइन मजबुत नहुँदा समस्या हुन सक्ने भएकाले यस क्षेत्रको राप्ती लोकमार्गको स्तरोन्नति गर्न जरुरी रहेको निष्कर्षमा आयोजना पुगेको छ । ४ सय केभीको डिजाइन गरे पनि तत्कालका लागि २ सय केभीको सबस्टेसन निर्माण गरेर यही सडकमै लाइन थप गर्न सकिने विकल्पमा पनि छलफल भइहेको छ । भेराखेतमा सबस्टेसन निर्माण गर्दा त्यहाँसम्मको सडक, सडक पुललगायतको पूर्वाधारमा विकास हुनुका साथै जिल्लामा थप रोजगारी समेत सिर्जना हुनेछ ।
Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)